जेठ १५ को शान्तिपूर्ण आन्दोलनमा हिंसा भड्किए प्रधानमन्त्री जिम्मेवार - राप्रपा [भिडियो]
प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर मानिसलाई भिडन्तमा उक्साएर युद्धको अवस्था सिर्जना गर्न खोजेको आरोप, गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
733
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिँदै शाहीले यदि कतै हिंसा भड्किए त्यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। बुधबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर मानिसलाई भिडन्तमा उक्साएर युद्धको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाए।
"हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ। कुनै पनि कसैमाथि दुर्घटना भयो भने पनि यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ। अति गर्नु अत्याचार नगर्नु, अति गर्यो भने खति हुन्छ," शाहीले चेतावनी दिए। उनले राप्रपाका प्रमुख सचेतक र समितिका सुरक्षाकर्मी हटाइएको विषयमा सरकारलाई नै सोध्न आग्रह गरे।
उनलेगृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिए। शाहीले नागरिक बेच्ने गिरोहलाई कारबाही गर्न संसदमा आवाज उठाउँदा पनि सरकारले अटेरी गरेकोमा आपत्ति जनाए। शाहीले प्रतिपक्षले मंगलबारको बैठकमा आफ्ना कुरा राख्न खोज्दा समय नपाउँदै सत्ता पक्षका सांसदले बोल्न पाउनु अमान्य भएको बताए। उनले प्रतिपक्षले गृहमन्त्रीसँग जवाफ नभई सिधै राजीनामा माग गरेको स्पष्ट पारे।
"हामी प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरूले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा राजीनामा माग्ने र उच्चस्तरीय छानबिन समिति बनाउने बाचा नगर्दासम्म संसदलाई अगाडि बढ्न नदिने भन्ने नै हो," शाहीले भने, "देशका नागरिकलाई बेच्ने गिरोहहरूलाई कारबाही गर्न संसदमा छानबिन समिति बनाऊ भन्दा पनि सरकारले अटेरी गर्न मिल्छ र? यो देशमा युवाहरूलाई विदेश जान त बाध्य पार्यौं, नेपालीलाई भुटानी बनाएर पनि बेच्यौं। त्यतिले पनि पुगेन अब त भिजिट भिसामा समेत मान्छे बेच्न थाले। यसको जवाफ हामीले संसदमा माग्यौं। गृहमन्त्रीले राजीनामा दिनुभएन भने संसदीय समिति बनोस् भन्ने कुरा अगाडि बढ्यो। तर यति कुरा पनि सत्तापक्षले टेरपुच्छर नलगाउने, यसलाई नमान्ने भएपछि संसद अगाडि बढ्न सकेन। सत्तापक्ष र सरकारकै कारण संसद रोकिएको हो।"
उनले सभामुखले समेत प्रतिपक्षलाई प्राथमिकता नदिएको आरोप लगाए। "सभामुखले पनि प्रतिपक्षले हिजोदेखि नै आफ्ना कुरा राख्छु भन्दा प्रतिपक्षले नपाउँदै सत्तापक्षका सांसदले पाउने भन्ने विषयवस्तु रहन्न," शाहीले भने। उनले प्रधानमन्त्रीले नेपालको संविधान, धारा र कानुनहरू उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको दाबी गरे।