नेपालमा ८१.२ प्रतिशत हिन्दू , परिपक्व उमेरमा विवाह गर्न थाले, युवाको जनसङ्ख्या घट्दो [भिडियो]
युवाहरू बाहिरिने क्रम जारी रहनु चिन्ताजनक
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
1.1k
Shares
काठमाडौँ । नेपालमा विवाह गर्ने उमेरमा परिवर्तन आएको एक तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको 'नेपालमा वैवाहिक स्थिति, धर्महरू र किशोर किशोरी तथा युवाको अवस्थाबारे विषयगत प्रतिवेदन' ले यस्तो खुलासा गरेको हो। प्रतिवेदन अनुसार, पुरुष तथा महिला दुवैले परिपक्व उमेरमा विवाह गर्न थालेका छन्, र यो परिवर्तन बालविवाहको अवस्था, प्रजनन दर र पहिलो विवाहको उमेरमा स्पष्ट देखिएको छ।
विवाह र अविवाहितको अवस्थामा परिवर्तन
नेपालको जनगणना २०७८ को तथ्यांकअनुसार वि.सं. २०१८ र २०७८ बीचको ६० वर्षको अवधिमा कहिल्यै विवाह नगरेका पुरुष र महिलाहरूको अनुपात क्रमशः १० र १३ प्रतिशत बिन्दुले वृद्धि भएको छ। कार्यालयका निर्देशक विनोदशरण आचार्यका अनुसार २०१८ मा अविवाहित पुरुषको अंश २८ प्रतिशत रहेकोमा २०७८ मा ३८ प्रतिशत पुगेको छ, जबकि सोही अवधिमा अविवाहित महिलाको अंश १५ प्रतिशतबाट बढेर २८ प्रतिशतमा पुगेको छ।
यस्तै, पछिल्लो ६० वर्षमा विवाहित पुरुष र महिलाको अनुपात क्रमशः करिब ६ र ५ प्रतिशत बिन्दुले घटेको छ। निर्देशक आचार्यले विवाहितको अनुपातमा देखिएको यो गिरावट अविवाहितको अनुपातमा भएको वृद्धिसँग समानुपातिक नदेखिएको बताए। उनले शहरी क्षेत्रको तुलनामा ग्रामीण र अर्धसहरी क्षेत्रमा विवाहित पुरुष तथा महिलाको अनुपात बढेको देखिएको र शहरी क्षेत्रमा अविवाहित पुरुष तथा महिलाको अनुपात ग्रामीण र अर्धसहरी क्षेत्रभन्दा बढी रहेको जानकारी दिए।
धार्मिक जनसांख्यिकी
२०७८ को जनगणनाअनुसार नेपालमा हिन्दु धर्म मान्नेहरू कुल जनसङ्ख्याको ८१.२ प्रतिशत रहेका छन्। संख्याका आधारमा बौद्ध धर्म मान्नेहरू ८.२५ प्रतिशतसहित दोस्रो नम्बरमा छन् भने इस्लाम धर्म मान्नेहरू ५.१५ प्रतिशतसहित तेस्रो नम्बरमा छन्। यस्तै, नेपालमा ३.२ प्रतिशत जनसङ्ख्याले किराँत धर्म, १.८ प्रतिशतले इसाई र ०.३ प्रतिशतले प्रकृति धर्म मान्ने गरेको निर्देशक आचार्यले बताए। उनले २०४८ देखि २०७८ को जनगणना अवधिमा हिन्दु धर्म मान्ने जनसङ्ख्याको प्रतिशतमा गिरावट आएको जानकारी दिए, तर २०५८ को तुलनामा २०६८ को जनगणनाका बीचमा भने थोरै वृद्धि देखिएको थियो।
युवा जनसङ्ख्याको घट्दो प्रवृत्ति
कार्यालयका अनुसार नेपालको जनसङ्ख्याको २०.१ प्रतिशत १० देखि १९ वर्ष उमेर समूह र १९.७ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका किशोर किशोरीहरू रहेका छन्। नेपालमा किशोर–किशोरी जनसङ्ख्या २०१८ मा १८ लाख ७० हजार रहेकोमा २०६८ मा ६४ लाख १० हजार पुगेको थियो, तर २०७८ को जनगणनाअनुसार यो सङ्ख्या घटेर ५८ लाख ८० हजारमा सीमित भएको छ।
कार्यालयले किशोर–किशोरीको जनसङ्ख्या युवाको तुलनामा केही बढी देखिए पनि अघिल्लो दशकमा आएको गिरावटका कारण भविष्यमा युवाहरूको जनसङ्ख्या पनि घट्दै जाने देखिएको जनाएको छ।
जनसांख्यिक संरचना र आर्थिक चिन्ता
राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले जनसङ्ख्याको बनावट विस्तारै घट्दो गतिमा जान लागेकोमा चिन्ता व्यक्त गरेका छन्। उनले १५ देखि २४ वर्षका युवाहरूको ध्यान विदेशमा बसाइँसराइ र पढ्न जाने प्रवृत्तिमा केन्द्रित रहेको बताए। बुर्लाकोटीले विदेशबाट युवाहरूलाई फर्काउने उपाय खोज्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार युवाहरूको जनसङ्ख्या घट्नु र काम गर्ने उमेर समूहका युवाहरू घट्नु भनेको क्रियाशील उमेर घट्नु हो, जसले उत्पादन घटाउने र देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेछ। उनले अब पनि केही नगर्ने हो भने पछि परिने जिकिर गरे। "हाम्रो जनसङ्ख्याको बनोट विस्तारै घट्दो गतिमा जान लागेको छ। युवाहरूको जनसङ्ख्या घट्नु, काम गर्ने उमेर समूहका युवाहरू घट्नु भनेको क्रियाशील उमेर घट्नु हो। त्यसले उत्पादन घटाउँछ। उत्पादन घट्दा देशको अर्थतन्त्रमा फरक पार्छ र हाम्रो उमेरको हद विस्तारै ओरालो लाग्दछ। यसले हामीलाई छिटो विकास गर, गरेनौँ भने पछि पर्छौं भनेर घचघचाइरहेको छ," बुर्लाकोटीले भने।
राष्ट्रिय जनगणना २०७८ अनुसार १७ प्रतिशतले आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइ गरेको देखिएको तथ्यांक कार्यालयले जनाएको छ।