काँक्रोको बीउबाट पर्वतका किसानलाई मनग्य आम्दानी: यस वर्ष ८ करोडको उत्पादन अनुमान
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
545
Shares
पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोको बीउका लागि व्यावसायिक खेती फस्टाएको छ, जसबाट किसानहरूले मनग्य आम्दानी गरिरहेका छन्। गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रो अहिले पाकेर फाँटैभरि पहेँलपुर भएको छ। अत्यधिक बढेको गर्मीसँगै कृषकहरूलाई काँक्रो टिपेर बीउ निकाल्न भ्याइनभ्याइ भएको छ।
पर्वतका बिहादी गाउँपालिका–१ बाच्छा, फलेवास नगरपालिकाका पाङराङ, कुर्घा, लिमिठाना, देवीस्थान र खानीगाउँका साथै जलजला गाउँपालिकाको खोलाखेत र धाइरिङका कृषकले व्यावसायिक रुपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका छन्। कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, अनुकूल मौसम र हावापानीका कारण विगतका वर्षहरूमा भन्दा यस वर्ष काँक्रोको उत्पादनमा वृद्धि भएको छ।
फलेवास नगरपालिका–११ पाङराङमा ७२ कृषकले व्यावसायिक रुपमा काँक्रोखेती गर्दै आएका छन्। स्थानीय बाबुराम भुसालका अनुसार, गत वर्ष यो गाउँमा बीउ बिक्रीबाट ६ करोड रुपैयाँ भित्रिएको थियो र यस वर्ष अझै उत्पादन बढ्ने अनुमान गरिएको छ।
बिहादी गाउँपालिका–१ बाच्छामा मात्रै कृषकले २०० रोपनी क्षेत्रफलमा बीउका लागि काँक्रोको खेती गरेका छन्। व्यावसायिक उत्पादनमा लागेको सिर्जनशील कृषक समूहले मात्रै १०० रोपनीमा काँक्रो लगाएको छ, जसमा २८ कृषक आबद्ध छन्।
गत वर्ष काँक्रोको बीउ प्रतिकिलो १३ हजार रुपैयाँका दरले बिक्री भएको थियो। अहिले पनि काठमाडौं, पोखरा, बुटवललगायतका स्थानबाट काँक्रोको बीउको माग भइरहेको छ, तर मूल्य तोकिएको छैन। कृषक शिवकुमार क्षेत्रीले १७ रोपनी क्षेत्रफलको जग्गामा काँक्रोको खेती गरी कम्तीमा पनि १०० किलोभन्दा बढी बीउ उत्पादन हुने बताएका छन्।
जलजला गाउँपालिका–७ धाइरिङको सल्यानका कृषकले गत वर्ष काँक्रोको बीउ बेचेर ३ करोड रुपैयाँ आम्दानी गरेका थिए। स्थानीय टुङ्गनाथ आचार्यले यस वर्ष अझै वृद्धि हुने अनुमान गरिएको जानकारी दिए।
कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले काँक्रोको बीउखेती गरिएको जग्गाको क्षेत्रफल २०० रोपनीले वृद्धि भएको र मौसम पनि अनुकूल भएको हुँदा यस वर्ष जिल्लाभरबाट कम्तीमा पनि ८ करोड रुपैयाँ बराबरको काँक्रोको बीउ उत्पादन हुने अनुमान गरिएको बताए। कृषि ज्ञान केन्द्रले कृषकलाई तालिम, बीउ खरिदमा ५० प्रतिशत अनुदान र मल, विषादी तथा कृषि सामग्री खरिदमा समेत ५० प्रतिशतसम्म अनुदान सहयोग गरेको प्रमुख अधिकारीले जानकारी दिए।
अहिले काँक्रो टिप्ने, बीउ निकाल्ने र सुकाएर थन्क्याउने काम भइरहेको छ। किसानहरूले असार दोस्रो सातापछि व्यापारीलाई बीउ बिक्री गरिने बताएका छन्। यहाँ उत्पादित बीउ नार्क र निमाकोललगायतका संस्थाले खरिद गर्दै आएका छन्।