निजामती विधेयक जेठ २० गते संसदमा पेश गर्ने तयारी [भिडियो]
कर्मचारीमाथि अभियोग लागेकै आधारमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने कुरामा आफूहरू स्पष्ट रहेको
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
649
Shares
काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यही जेठ २० गते संसदमा लैजाने तयारी गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सञ्चारकर्मीहरूलाई यो जानकारी दिएका हुन्। बैठकमा संसद बैठकको कार्यतालिका (क्यालेन्डर) को विषयमा छलफल भएको सांसद खतिवडाले बताए। उनका अनुसार, जेठ २० गतेदेखि आगामी असार १३ गतेसम्म संसद बैठक निरन्तर बस्ने निर्णय गरिएको छ। यसअघि हप्ताको तीन दिन संसदीय समिति र तीन दिन संसद बैठक बस्ने गरेकोमा बजेट अधिवेशन भएको कारण शनिबारबाहेक प्रत्येक दिन संसद बैठक बस्ने निर्णय गरिएको हो।
बैठकमा संसदको अवरोध खुलाउने विषयमा समेत छलफल भएको सांसद खतिवडाले बताए। उनले कर्मचारीमाथि अभियोग लागेकै आधारमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने कुरामा आफूहरू स्पष्ट रहेको उल्लेख गरे।
खतिवडाले गृहमन्त्रीमाथि नै अख्तियारले छानबिन गर्ने अवस्था आएको खण्डमा निर्णय गर्न सकिने भए पनि मातहतको कुनै कर्मचारीमाथि अनुसन्धान हुँदैमा मन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण रहेको जिकिर गरे। उनले भने, "एउटा कर्मचारीलाई अभियोग लागेकै भरमा गृहमन्त्रीले राजीनामा नदिने भन्ने कुरामा हामी प्रष्ट छौँ। यस्तो अवस्थामा गृहमन्त्रीको राजीनामा माग गर्नुपनि पूर्वाग्रहपूर्ण हुन्छ।"
उनले थपे, "यदि अख्तियारले गृहमन्त्रीमाथि नै छानबिन गर्ने अवस्था आयो तत्कालीन अवस्थामा निर्णय गरौँला। कर्मचारीमाथि अनुसन्धान भएकै भरमा राजीनामा दिने हो भने कुनैबेला सुन तस्करको अभियोग लागेका अध्यागमनका प्रमुखहरू, डिजीहरूमाथि अनुसन्धान हुँदा यो परम्परा थियो कि थिएन त्योलाई पनि हेरौँ भनेर हामी प्रतिपक्षीहरूलाई अनुरोध गरेका छौँ।"
सांसद खतिवडाले जेठ २० गते संसद बैठक बस्ने र त्यसबेलासम्म सहमति गरेर संसद खुलाउने प्रयासमा आफूहरू रहेको बताए।