arrow

अटोचालक आकाश क्यान्सर बिरामीको निःशुल्क सेवामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
tampo-driver-aakash-aryal-h.jpg

चितवन । यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन् । उनले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका छन् । 
 
पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आएका हुन् । पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।

विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका उनले धेरै क्यान्सर बिरामीका कथा सुने । कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोख्थे । 

उनले भने, “मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने ? भनेर निःशुल्क सेवा शुरु गरेँ ।” यही सोचले उनले गएको मातातीर्थ औँसीदेखि निःशुल्क सेवा शुरु गरेका हुन् । उनले हरेक बिहान ७ः०० देखि १०ः०० बजेसम्म पुल्चोकबाट बीपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क सेवा दिँदै आएका छन् ।
 
उनले भने, “बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ ।” पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उनको अनुभव छ । 

त्यसैले उनले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताए । बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनी आफैँले बस–बसमा गएर खबर गर्छन् ।
 
१० बजेपछि पनि कोही बिरामी भेटिए भने आफन्तसहित तीन जना भए एकजना बिरामीको भाडा उनले लिन्नन् । बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उनले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पुर्याउँछन् । त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउँछन् र त्यही आम्दानीले परिवार चलाउँछन् ।
 
विदेश जाने तयारीमा रहेका युवक अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको सुनाए । उनले भने, “आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु ।” सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ