नेपाललाई महत्त्वपूर्ण जित: नेदरल्यान्ड्सलाई हराउँदै जोड्यो अंक
आरिफ र दीपेन्द्रको कमाल
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
647
Shares
काठमाडौँ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।
नेपालको जितमा आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्कासहित ७८ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ खेले। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा ३ चौकाको सहयोगमा नटआउट ३८ रन बनाए। आरिफ र दीपेन्द्रबीच पाँचौँ विकेटका लागि ८९ रनको प्रभावशाली साझेदारी भएको थियो।
अन्य ब्याट्सम्यानतर्फ, ओपनर कुशल भुर्तेलले ४२ बलमा ३ चौकासहित २५ रन, कप्तान रोहित पौडेलले ३९ बलमा १ चौकासहित २३ रन, र अर्का ओपनर आसिफ शेखले २२ बलमा ३ चौकासहित १९ रन जोडेका थिए। भीम सार्कीले ११ रन बनाए।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले २ विकेट लिए भने भिभियन किङ्ग्मा र पल भान मेकरेनले समान १-१ विकेट हात पारे।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भएको थियो। नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा ५ चौकासहित सर्वाधिक ४८ रन बनाए। कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकासहित ४६ रन जोडे भने विक्रमजित सिंहले ३८ रन र ज्याक लायनले २७ रन बनाए।
नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। करण केसी, ललित राजवंशी, र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे।
यो जितसँगै नेपाल १४ खेलबाट १० अंकसहित लिगको सातौँ स्थानमा उक्लिएको छ। पराजित नेदरल्यान्ड्स २१ खेलमा २६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा यथावत् छ।