काठमाडौं । संघीय संसदअन्तर्गत आज (बिहीबार) दुवै सदनको बैठक बस्दैछ। यसमा प्रमुख रूपमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सामान्य छलफल सुरु हुने कार्यसूची रहेको छ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन्। सभामुखले प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने छन्।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने छन्।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। यो प्रस्ताव प्रस्तुत भएसँगै बजेटमाथि सदनमा सामान्य छलफल सुरु हुनेछ।
त्यस्तै, दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ।
राष्ट्रिय सभा बसिरहेको भए पनि प्रतिनिधि सभा बस्न सकेको छैन । भिजिट भिसा प्रकरणलाई आधार बनाएर विपक्षीहरुले संसद चल्न दिएका छैनन् ।