जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद छिट्टै सुचारु हुने विश्वास व्यक्त गरेका छन्। जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरूले संसद अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाको यो प्रतिक्रिया आएको हो।
सभापति देउवाले कांग्रेस र नेकपा (एमाले) बीचको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताए। उनले बजेटबाट सबैलाई खुसी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको धारणा राखे।
गृहमन्त्री रमेश लेखकले राजीनामा दिने हो भन्ने प्रश्नमा देउवाले उल्टै प्रतिप्रश्न गरे, "किन राजीनामा दिने भन्या?"
देउवाले भने, "काँग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरूलाई थाहै छ। यो राम्रोसँग चलिरहेको छ। बजेटबाट कोही खुसी हुँदैनन्। आलोचना त भइरहन्छ, के भयो र? कतिपय कुराहरूमा असहमति होला तर भए पनि आखिर बजेट आएको छ। अब त खुल्नुपर्ने हो। अब खुल्छ।"
उनले वर्तमान सरकार २०८४ सालसम्मै राम्रोसँग सञ्चालन हुने दाबी पनि गरे।