arrow

निराशाको परिणाम

नेपाल छाड्नेको लर्को: दुई वर्षमै एक लाख ३७ हजारले सरे स्थायी बसाइँ [भिडियो]

बढ्दो भ्रष्टाचार, राजनीतिक खिचातानी, अराजकता, बेथिति र बेरोजगारी मुख्य कारण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
imagration-report.jpg
विभ

काठमाडौँ । नेपालमा बढ्दो भ्रष्टाचार, राजनीतिक खिचातानी, अराजकता, बेथिति र बेरोजगारीका कारण स्थायी रूपमै देश छाड्ने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। पछिल्लो दुई वर्षको सरकारी तथ्याङ्कले मात्रै १ लाख ३७ हजार नेपालीले सधैँका लागि देश छाडेर विदेशमा बसाइँ सरेको देखाएको छ।

अध्यागमन कार्यालयका अनुसार, स्थायी रूपमै देश छाडेर विदेश बसाइँ सर्नेहरूमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिन्छ। दुई वर्षको अवधिमा ७१ हजार २०७ जना नेपाली पुरुष स्थायी रूपमै बसाइँ सरेर नेपालबाट अनुमति लिएरै विदेश गएका छन्। त्यसैगरी, विदेश बसाइँ सर्ने महिलाको सङ्ख्या ६६ हजार ५ सय ३८ रहेको छ।


वर्षगत तथ्याङ्क र पुँजी पलायनको आशङ्का

अध्यागमन कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार, सन् २०२३ मा ७० हजार ९ सय १५ नेपाली स्थायी रूपमै विदेशमा बसाइँ सरेका छन् भने सन् २०२४ मा ६६ हजार ८ सय ३५ नेपाली सधैँ उतै बस्नेगरी गएका छन्। यो तथ्याङ्कले ठूलो सङ्ख्यामा नेपाली देश नै छाडेर विदेशमा बसाइँ सरिरहेको सङ्केत गर्छ।

पछिल्लो समय नेपालमा लगानीको वातावरण नभएको चर्चा भइरहेका बेला हजारौँ नेपालीमार्फत स्वदेशी पुँजी पलायन भइरहेको त छैन भन्ने आशङ्का विभागको तथ्याङ्कले देखाएको छ। तर, देश छाड्ने नेपालीको पृष्ठभूमि परिचय भने सरकारले ट्रयाक गर्ने गरेको छैन।


अस्थायी बसोबास, रोजगारी र अध्ययनका लागि विदेशिनेको सङ्ख्या

स्थायी मात्र नभई अस्थायी रूपमा उतै बस्नका लागि पनि ठूलो सङ्ख्यामा नेपालीहरू विदेश गइरहेको सरकारी तथ्याङ्कले देखाउँछ:

  • अस्थायी बसोबास: सन् २०२३ मा ९२ हजार ३ सय ४९ जना नेपाली अस्थायी रूपमा विदेशमा बस्नेगरी नेपालबाट अनुमति लिएर गएका छन् भने सन् २०२४ मा ६६ हजार ८३५ नेपाली अस्थायी रूपमा विदेशमा बस्नका लागि एयरपोर्ट प्रयोग गरेर नेपाल छाडेका छन्।

  • रोजगारी: पछिल्लो दुई वर्षमा १६ लाख ६४ हजार ८ सय ३७ नेपाली रोजगारीको खोजीमा विदेश गएका छन्। सन् २०२३ मा ८ लाख ८ हजार ४ सय १५ जना कामको खोजीका लागि विदेश गएकोमा सन् २०२४ मा यो सङ्ख्या बढेर ८ लाख ५६ हजार ४ सय २२ पुगेको छ।

  • अध्ययन: पछिल्लो दुई वर्षको अवधिमा २ लाख २७ हजार ९५१ जना विद्यार्थी भिसामा विदेश गएका छन्। सन् २०२३ मा १ लाख ८ हजार ५ सय ४२ जना पढ्नका लागि विदेश गएकोमा २०२४ मा यो सङ्ख्या बढेर १ लाख १९ हजार ५ सय ९ जना पुगेको छ।

  • भिजिट भिसा: अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो दुई वर्षमा ४ लाख ७८ हजार ८४६ नेपाली भिजिट भिसामा विदेश गएका छन्। सन् २०२३ मा २ लाख ४ हजार ५ सय १८ नेपाली घुमफिरका लागि विदेश गएकोमा सन् २०२४ मा २ लाख ७४ हजार ५ सय १८ नेपाली भिजिट भिसामा विभिन्न मुलुकमा गएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ