२१८ वर्ष पुरानो मुक्तिनाथ धर्मशालाको स्तरोन्नति शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
852
Shares
मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१, पुराङ रानीपौवामा अवस्थित २१८ वर्ष पुरानो मुक्तिनाथ धर्मशालाको स्तरोन्नति कार्य शुरु भएको छ। मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको यो धर्मशाला राणा शासनकालमा तत्कालीन राजा रणबहादुर शाहकी माइली श्रीमती सुवर्णप्रभाले स्थापना गरेकी थिइन्।
रानी सुवर्णप्रभाले परिवारको सुख, शान्तिको कामना गर्दै मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनलाई खान र बस्न असुविधा नहोस् भन्ने उद्देश्यले यो धर्मशाला स्थापना गरेकी थिइन्। रानीद्वारा निर्माण गरिएकाले यसलाई रानीपौवा धर्मशाला नामकरण गरिएको मुक्तिनाथ रानीपौवा धर्मशाला रेखदेख तथा व्यवस्थापनमा खटिएका स्वामी भरत कोइरालाले बताए।
उनका अनुसार, प्राचीन शैलीमा ढुङ्गा र माटोले निर्माण गरिएको दुईतले रानीपौवा धर्मशालामा २१ वटा भक्तजन बास बस्ने कोठा छन्। “धर्मशाला पुरानो र जीर्ण हुँदै गएपछि यहाँ बास बस्ने भक्तजन, साधुसन्त र पुजारीलाई समस्या पर्दै आइरहेको थियो,” स्वामी कोइरालाले भने, “भक्तजनको समस्यालाई मध्यनजर गर्दै जगद्गुरु स्वामी कमलनयनाचार्यको पहलमा धर्मशालाको मर्मत शुरु गरिएको हो।”
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र पुरातत्व विभागको लागत साझेदारीमा ७४ लाख रुपैयाँ बजेटमार्फत मुक्तिनाथ धर्मशालाको मर्मत शुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि रमेश गुरुङले जानकारी दिए। धर्मशालाको साविक सौन्दर्यता नबिग्रिने गरी स्तरोन्नति भइरहेको उनले बताए।
धर्मशालाको लिपपोत, रङरोगन, शौचालय र बाथरुम, झ्यालढोका मर्मतका साथै धर्मशालाको छतमाथि काठको फलेक बिछ्याएर अलकत्रा राखी वातावरणमैत्री प्लास्टिकसहित सख्खर माटो बिछ्याउने काम भइरहेको गुरुङले उल्लेख गरे। “धार्मिक पुण्यकार्यको ठेक्का लिएको हुँ, नाफाभन्दा पनि बजेट अनुसारको गुणस्तर कायम गर्ने पक्षमा छौँ,” उनले भने, “सम्झौताअनुसार शतप्रतिशत हुनेगरी काम गरिरहेका छौँ। यो मुक्तिनाथको दर्शनार्थीका लागि भएकाले सेवा गर्ने मौका पनि हो।”
व्यवस्थापनमा खटिएका स्वामी कोइरालाले रानीपौवा धर्मशाला पुरानो र जीर्ण हुँदा तीर्थयात्री, साधुसन्त र पुजारीलाई खान र बस्न समस्या भएपछि स्तरोन्नतिको पहल थालिएको बताए। “धर्मशालाको छत माथिबाट पानी चुहिने गथ्र्यो, शौचालय र बाथरुमसमेत जीर्ण थिए,” उनले भने, “सम्झौताअनुसार ठेकेदारले रङरोगन र मर्मतको काम तीव्र गतिमा गरिरहेका छन्। मर्मतपछि यहाँ आउने भक्तजनलाई बास बस्न सहज हुनेछ।” धर्मशाला मर्मतको काम दुई सातादेखि भइरहेको र असार मसान्तसम्म सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको उनले जानकारी दिए।
मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार, रानीपौवा धर्मशाला रणबहादुर शाहकी माइली श्रीमती सुवर्णप्रभाले निर्माण गरेकी हुन्। मुक्तिनाथ क्षेत्रको ६ रोपनी १२ आना क्षेत्रफलमा रानीले प्राचीन शैलीमा भक्तजनको आवास र भोजनको प्रबन्ध मिलाउन धर्मशाला स्थापना गरेकी थिइन्।
यहाँ बाह्य धार्मिक पर्यटकका साथै म्याग्दी, पर्वत, स्याङ्जा लगायतका जिल्लाबाट भक्तजन आउने पुजारी सुवेदीले उल्लेख गरे। मुक्तिनाथ र धर्मशालाका लागि खाद्यान्न लगायत अन्नबाली उत्पादन गर्न रानी सुवर्णप्रभाकै पालामा सदावर्त गुठी स्थापना भएको थियो। यसरी गुठीको जग्गा सदावर्त गुठीले रानीपौवा धर्मशालामा चढाउने गरेको थियो।
पुजारी सुवेदीका अनुसार, “मुक्तिनाथ मन्दिर र धर्मशालाका नाममा म्याग्दी, पर्वत र स्याङ्जामा रहेका गुठी जग्गामध्ये कतिपय रैथानेमा परिणत भइसकेको छ भने कतिपय सदावर्त गुठीको नाममा छ।” उनले सदावर्त गुठीको नाममा रहेको जग्गा कमाउने व्यक्तिले दुई दशकदेखि अधियाको भागबण्डा बुझाउन छोडिसकेको बताए। विसं २०४६ सम्म म्याग्दीमा उत्पादन भएको सदावर्तको अन्नबाली बुझाउने गरिए पनि त्यसपछि क्रमशः जग्गा कमाउने व्यक्तिले अन्नबाली बुझाउन छोडेको जानकारी उनले दिए।