भोजपुरको तीनतलेमा व्यावसायिक चिराइतो खेतीबाट किसानले १२ लाखसम्म आम्दानी गर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
560
Shares
भोजपुर। षडानन्द नगरपालिका–१० तीनतलेका किसानहरू बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा सक्रिय रूपमा लागेका छन्। मकै, आलुलगायतका परम्परागत बालीको तुलनामा चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि उनीहरूको आकर्षण यसतर्फ बढेको हो।
षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार, तीनतले क्षेत्रका १२० भन्दा बढी किसानहरूले चिराइतो, लोठसल्ला, सतुवालगायतका जडीबुटीको व्यावसायिक खेती गरिरहेका छन्। यस क्षेत्रका माथिल्लो भेगका किसानहरूको मुख्य आम्दानीको स्रोत नै चिराइतो बनेको छ। नगरपालिकाले यस माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
"चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ," वडाध्यक्ष शेर्पाले बताए, "अन्य बालीको तुलनामा जडीबुटी चिराइतो खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ। अहिले हामीले यो क्षेत्रलाई चिराइतो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ।"
तीनतले क्षेत्रका किसानहरूले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम १ लाख ५० हजारदेखि १२ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए। आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको बताउँदै उनले यसबाट औसतमा वार्षिक ४ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको उल्लेख गरे। गत वर्ष चिराइतो बिक्रीबाट मात्र ७ लाख रुपैयाँ आम्दानी गरेको पनि उनले जानकारी दिए।
उत्पादन भएको चिराइतो घरबाटै ठेकेदारले लैजाने गरेको स्थानीय अर्का किसान निमा शेर्पाले बताए। गत वर्ष एक मन (४० केजी) चिराइतो घरबाटै ४० हजारदेखि ४५ हजार रुपैयाँसम्ममा बिक्री भएको उनले जानकारी दिए। राम्रो आम्दानी हुने भएपछि १० वर्षअघिबाट व्यावसायिक रूपमा चिराइतो खेतीमा जुटेको उनको भनाइ छ।
"मैले १० वर्षअघिबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु," निमा शेर्पाले भने, "चिराइतोबाट राम्रो आम्दानी लिँदै पनि आएको छु। बर्सेनि मूल्यवृद्धि भइरहेको अवस्था छ। त्यही भएर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन्।"
चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुन्छ। चिराइतो विशेषगरी भदौ, असोज र कात्तिकमा सङ्कलन गरिने शेर्पाले बताए। पछिल्लो समय चिराइतोमा बोट सुक्ने र जरा कुहिने रोगको समस्या देखिन थालेको उनले जानकारी दिए। राज्यको तहबाट रोग कीरा नियन्त्रणमा सहयोग भएमा किसानले अझ राम्रो आम्दानी गर्न सक्ने उनको भनाइ छ।
चिराइतो ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुकालगायतका रोगका लागि औषधिको रूपमा प्रयोग गर्न सकिने स्थानीयले बताएका छन्। यसको पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ। यहाँ उत्पादित चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ।
१,५०० मिटरदेखि २,५०० मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन्। लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको छ। चिराइतो षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग, टेम्केमैयुङ–५ मझौले, तिम्मा, दोभाने, हेलौंछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायतका क्षेत्रमा व्यावसायिक खेती हुने गरेको छ।