हितराज पाण्डेको सरकारलाई प्रश्न - नागरिकता ऐनमा सेरोगेसीको विषय कसरी समेट्ने ?
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
2k
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नागरिकतासम्बन्धी विधेयकमा सेरोगेसीको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे सरकारसँग प्रश्न गरेका छन्। उनले आधुनिकताको विकाससँगै सेरोगेसीको चलन बढ्दै गइरहेको सन्दर्भमा यसले नागरिकतामा पार्ने प्रभावबारे सरकारको स्पष्ट जवाफ माग गरेका हुन्।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' माथि चलिरहेको छलफलमा भाग लिँदै पाण्डेले यो प्रश्न उठाए।
सेरोगेसी (गर्भ भाडामा लिने प्रक्रिया), जहाँ अरुको गर्भ भाडामा लिएर बच्चा जन्माइन्छ, विकसित मुलुकमा मात्र नभई नेपालमा पनि यसको चलन बढ्दो छ। विश्वका चर्चित कलाकारहरूले सेरोगेसीबाट बच्चा जन्माएका थुप्रै उदाहरणहरू छन्।
"नागरिकताको कुरा गर्दा मेरो दिमागमा एउटा कुरा आएको छ," पाण्डेले भने, "यो सरकारले हल कसरी गर्छ भन्ने हो। अहिले विज्ञानले विकास गर्दागर्दै सेरोगेसी मदरको कुरा आउँछ। सेरोगेसीको समस्या नागरिकतामा कसरी समेट्ने? त्यो नहुँदा त अहिले असजिलो परिरहेको छ। यो सेरोगेसीको कुरा पनि आइसक्यो अब त। विज्ञानले विकास गरिसक्यो। यो पनि नागरिकताको एउटा समस्या हो। यो कुरालाई कसरी समाधान गर्ने हो? नेपाल सरकारले कसरी सोचेको छ?"
प्रमुख सचेतक पाण्डेले नागरिकतासम्बन्धी विधेयकमा व्यापक छलफल गर्न जरुरी रहेको पनि बताए।