arrow

युनुसद्वारा अप्रिलमा निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता

निर्वाचन गराएर मात्रै सत्ता छाड्छु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
muhammad-yunus-bangladesh-getty-images.jpg

काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले आगामी अप्रिलमा निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निर्वाचनपछि आफू वा आफ्नो अन्तरिम सरकारका कुनै पनि सदस्य सत्तामा रहिरहन नचाहेको स्पष्ट पारेका छन्।

करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहका कारण सन् २०२४ को अगष्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी उनको १५ वर्ष लामो शासनको अन्त्य भएको थियो।

लन्डनको विदेश नीति थिङ्क ट्याङ्क चाथम हाउस, रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्समा मंगलबार साँझ बोल्दै ८४ वर्षीय युनुसले आफू स्वयंले कुनै राजनीतिक पद नखोजिरहेको र निर्वाचनपछि सत्तामा रहिरहन 'कुनै चाहना नभएको' बताए। उनले भने, "मलाई लाग्छ, म मात्र होइन, हाम्रो क्याबिनेटका कुनै पनि सदस्यले त्यसो गर्न चाहँदैनन्।"

युनुसले हसिनालाई सत्ताच्युत गर्ने प्रदर्शन सुरु भएको एक वर्षपछि अर्को महिना 'जुलाई चार्टर' भनिने प्रस्तावको 'ठूलो प्याकेज' सार्वजनिक गर्न चाहेको पनि बताएका छन्। यो प्याकेजको उद्देश्य हसिनाको कार्यकालपछि लोकतान्त्रिक संस्थाहरूमा आमूल परिवर्तन गर्नु रहेको उनले स्पष्ट पारे। "हामी नयाँ बङ्गलादेश बनाउन चाहन्छौँ," युनुसले भने, "राजनीतिक दलसँग कुरा गरेर सरकारको 'सहमति आयोग'ले यो बडापत्र तयार गरिरहेको छ।"

युनुसले लामो समयदेखि सन् २०२६ को जुनभन्दा अघि नै चुनाव हुने बताउँदै आएका छन्, तर अन्तरिम प्रशासनले जति धेरै सुधार गर्छ त्यति नै राम्रो हुने उनको भनाइ छ। सत्ताका लागि होडबाजी गरिरहेका राजनीतिक दलहरूले पटक–पटक समयतालिका तोक्न माग गरेपछि उनले यसै महिनाको सुरुमा सन् २०२६ को अप्रिलमा चुनाव हुने बताएका थिए।

"हाम्रो काम संक्रमणकाललाई राम्रोसँग व्यवस्थापन गर्ने हो र हामीले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दा जनता खुसी हुनेछन्," उनले थपे, "त्यसैले हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि चुनाव सही छ, यो हाम्रो लागि धेरै महत्वपूर्ण कारक हो। यदि चुनावमा अनियमितता भयो भने यो कुरा फेरि कहिल्यै समाधान हुँदैन।"

युनुसले लन्डनमा बङ्गलादेश नेसनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग पनि भेटघाट गर्ने अपेक्षा गरिएको छ। पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा ५९ वर्षीय रहमानविरुद्ध हसिना सरकारले सन् २००८ मा दोषी करार गरी जेल सजाय सुनाएपछि लन्डनमा बस्दै आएका थिए। उनी चुनावमा पार्टीको नेतृत्व गर्न ढाका फर्कने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ