पोखरा । होटल प्रतिनिधि समाज पोखराले पर्यटक बसपार्क बन्द गरेर पर्यटकलाई समस्यामा पारिएकोप्रति दुःख व्यक्त गर्दै यस विषयमा गम्भीर बन्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । साथै समाजले यो वा त्यो बाहनामा पर्यटकलाई दुःख दिइँदा टुलुटुलु हेरेर बस्न नसकिने चेतावनीसमेत दिएको छ ।
समाजका अध्यक्ष माधव लम्सालले आज एक विज्ञप्ति जारी गर्दै पर्यटक बसपार्कमा देखिएको दृश्यले अत्यन्तै लज्जित र दुखी बनाएको उल्लेख गरे ।
विज्ञप्तिमा भनिएको छ, ‘पर्यटक बसपार्कमा आज जे दृश्य देखियो यसले साहै्र लज्जित र दुःखी बनायो । कोरोना महामारीको चपेटाले लथालिङ्ग भएको पर्यटन व्यवसाय फेरि उठाउन विभिन्न क्षेत्रबाट भएका प्रयासका बाबजुद पोखरा भ्रमण बर्ष घोषणासँगै व्यवसायीमा खुसी छाएको थियो । तर विभिन्न हड्ताल र द्वन्द्वका कारण शिथिल भएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘आज देशका विभिन्न स्थानबाट स्वदेशी तथा विदेशी पर्यटक लिएर आएका बसलाई पर्यटक बसपार्क भित्र प्रवेश गर्न दिइएन । सोलो ट्राभल गर्ने पर्यटकलाई मुस्ताङ चोकदेखि लेकसाइडसम्म हिंडेर आउन त्यति समस्या भएन । तर परिवारसहित छोटो समय पोखरा घुम्न आउने पर्यटकले बेहोरेको सास्ती कहालीलाग्दो थियो ।’
अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करिब २ बजे कै हाराहारीमा पर्यटकहरु बस पार्क नजिकै आईपुगे पनि बन्दले निकै समस्या पार्यो । सो समयमा न त ट्याक्सी, न त ईन्ड्राईभ, पठाओ । केही पनि समयमा नपाउँदा पर्यटक निकै निराश देखिन्थे । हामीले सरोकारवालासँग सम्बन्धित ठाउँमा छलफल गरौं, तर पर्यटकलाई दुःख नदिनुस् भन्दा कोही पनि टसको मस भएनन् ।’
अध्यक्ष लम्सालले जसको जे-जे माग भए पनि पर्यटकलाई हैरानी र सास्ती नदिन र पोखरा सुन्दर छ, शान्त छ, पोखरा सबैका लागि, सधैंका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।
पर्यटक बसपार्कमा कालो प्लेटका सवारीसाधन राख्न नदिने निर्णयको विरोधमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडअन्तर्गतका व्यवसायीले आन्दोलन गरेका हुन् । न्दोलनअन्तर्गत व्यवसायीले आज पर्यटन बसपार्कको गेटमा गाडी तेर्स्याएका थिए ।
बिहीबार पोखरा उपत्यका नगर विकास समिति घेराउ गरेका थिए व्यवसायीले आइतबार पोखरा महानगरपालिकाको कार्यालय घेराउ गर्ने जनाएका छन् ।
आन्दोलन गर्नु आफूहरुको बाध्यता : अध्यक्ष केसी
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष योगेन्द्रबहादुर केसीले आन्दोलन गर्नु आफूहरुको बाध्यता भएको बताएका छन् । अध्यक्ष केसीले भने, ‘हामीले पर्यटकका लागि सुविधासम्पन्न स्तरीय बस सञ्चालन गरेका छौँ, पोखरा महानगरपालिका र पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाले गरेको निर्णयले हामीलाई निकै दुखी बनाएको छ ।’
पर्यटकलाई दुःख दिने आफूहरुको कुनै मनसाय नभएको उनले स्पष्ट पारे ।
अध्यक्ष केसीले भने, ‘पर्यटन क्षेत्र निकै सम्बेदनशील छ, हामीले यो कुरा राम्रोसँग बुझेका छौँ । तर राज्यका निकायले नै हामी व्यवसायीलाई उठिबास लगाउन खोजेपछि हामीसँग विकल्प के नै हुन्छ र ?’
पर्यटन बसपार्कबारे मेयर आचार्यले यसरी गराए ध्यानाकर्षण
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा-७ राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कबारे ध्यानाकर्षण गराएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बसपार्कबारे ध्यानाकर्षण गराएका हुन् ।
साथै उनले पोखरा बसपार्कको पुनर्निर्माण गर्नुका साथै पोखराका छ वटा नाकामा साना टर्मिनल र लामाचौर क्षेत्रमा पूर्ण क्षमताको बसपार्क निर्माण गर्न दातृ निकायसँग आवश्यक सम्झौता प्रक्रियामा अघि बढिरहेको समेत उक्त ध्यानाकर्षणमा उल्लेख गरेका छन् ।
उनले यातायात सेवा एक अत्यावश्यक व्यावसायिक क्षेत्र भएको भन्दै यसमा संलग्न सबै सरोकारवालाले आपसी सहकार्य, कानूनी मर्यादा र संवेदनशीलताको विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।
कुनै पनि विषयमा जानबुझेर विषयान्तरण गरी आन्दोलनजस्ता गम्भीर शब्दहरूको प्रयोग गर्नु उचित, समयसापेक्ष र समाधानमुखी नहुने उनले स्पष्ट पारे ।
यातायात क्षेत्रसँग सम्बन्धित प्रचलित ऐन, नियम र व्यवस्थाले यस क्षेत्रमा कार्यरत सबै पक्षको अधिकार र कर्तव्य स्पष्ट रूपमा परिभाषित गरिसकेको हुँदा सोअनुसार आ-आफ्नो भूमिका निर्वाह गर्न उनले ध्यानाकर्षण गराएका छन् ।
यस्तो छ आचार्यको ध्यानाकर्षण
(पर्यटन बसपार्क सम्बन्धी विषयमा)
पछिल्ला केहि दिनयता पोखरामा सन् १९९८ को ‘नेपाल भ्रमण वर्ष’देखि कच्ची संरचनाबाट सुरु भई वि.सं. २०७९ देखि पक्की संरचनामा सञ्चालनमा आएको (नेपालकै) एक मात्र पर्यटन बसपार्कसम्बन्धी विभिन्न भ्रामक प्रचारहरू र आन्दोलनसम्बन्धी गतिविधिहरू सार्वजनिक तथा सामाजिक सञ्जालमा देखिन थालेपछि यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा निम्न बुँदागत तथ्यहरू प्रष्ट पार्न आवश्यक ठानेका छौँः
१) स्थान र उद्देश्यः पोखरा-७, राष्ट्र बैंक चोकको पूर्वपट्टि अवस्थित करिब १५ रोपनी क्षेत्रफलको यो जग्गा विशेषतः पर्यटन प्रयोजनका लागि प्रयोग हुने सवारीसाधन पार्किङ तथा यात्रु चढ्ने-ओराल्ने सुविधाका लागि छुट्याइएको हो। उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा रही पोखरा उपत्यका नगर विकास समितिको नाममा लालपुर्जासहित कायम रहेको छ। सन् १९९८ मा “नेपाल भ्रमण वर्ष“का सन्दर्भमा यस बसपार्कको औपचारिक सुरुआत भएको हो।
२) पुनर्निर्माण र सञ्चालनः वि.सं. २०७९ मा पर्यटन विभाग, पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिको संयुक्त लगानीमा यस बसपार्कको पुनर्निर्माण गरि सुबिधा सम्पन्न बसपार्क निर्माण गरिएको हो। निर्माण सम्पन्नपश्चात सार्वजनिक टेण्डर प्रक्रियामार्फत केवल पर्यटन क्षेत्रमा सञ्चालित सवारीसाधनहरूका लागि यस बसपार्कको प्रयोग हुँदै आएको छ।
३) भ्रामक प्रचार र विषयान्तरणः हालै विभिन्न माध्यमबाट यस बसपार्कको उद्देश्य र ऐतिहासिक पृष्ठभूमिलाई बेवास्ता गर्दै “१५ रोपनीको यो सानो क्षेत्र सबै प्रकारका भाडाका गाडीहरूका लागि खुला हुनुपर्छ“ भन्ने आशयका भ्रामक र भुलाउँदा प्रचारहरू गरिएको पाइन्छ। यस्ता प्रवृत्तिहरू सतही रूपमा ‘नवीन सोच’ जस्ता देखिए तापनि, प्रचलित ऐन, कानुन र व्यवस्थाको प्रत्यक्ष उल्लङ्घन हुन्।
४) अन्य सवारी साधनका लागि वैकल्पिक व्यवस्थाः अन्य भाडाका सवारीसाधनहरूको लागि पोखरा बसपार्क, बिन्दबासिनी बसपार्क, तथा अन्य उपयुक्त स्थानहरूमा छोटो अवधिका लागि पार्किङको व्यवस्था रहँदै आएको छ। साथै, हामी छिट्टै पोखरा बसपार्कको पुनर्निर्माण गर्नुका साथै, पोखराका ६ वटा नाकामा साना टर्मिनलहरू, र लामाचौर क्षेत्रमा पूर्ण क्षमताको बसपार्क निर्माण गर्न दातृ निकायहरूसँग आवश्यक सम्झौता प्रक्रियामा अगाडि बढिरहेको जानकारी गराउन चाहन्छौँ।
५) व्यावसायिक मर्यादा र कानुनी चेतनाः स्मरण रहोस्, यातायात सेवा एक अत्यावश्यक व्यावसायिक क्षेत्र हो। यसमा संलग्न सबै सरोकारवालाले आपसी सहकार्य, कानुनी मर्यादा र संवेदनशीलताको विशेष ध्यान दिनुपर्दछ। कुनै पनि विषयमा जानबुझेर विषयान्तरण गरी आन्दोलनजस्ता गम्भीर शब्दहरूको प्रयोग गर्नु उचित, समयसापेक्ष र समाधानमुखी देखिँदैन। यातायात क्षेत्रसँग सम्बन्धित प्रचलित ऐन, नियम र व्यवस्थाहरूले यस क्षेत्रमा कार्यरत सबै पक्षको अधिकार र कर्तव्य स्पष्ट रूपमा परिभाषित गरिसकेको हुँदा सोअनुसार आआफ्नो भूमिका निर्वाह गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराइन्छ।