नेपालका अनेक तीर्थस्थलहरूमध्ये गोसाइँकुण्ड पनि एउटा प्रमुख तीर्थस्थल हो । हिमवत्खण्डपुराणमा गोसाइँकुण्डअवस्थित हिमाल पर्वतलाई नीलाद्रि भनेको छ ।
गोसाईँ शब्दले जोगी वा योगीलाई बुझाउँछ र पौराणिक आख्यान एवं जनविश्वासअनुसार महादेव वा शिवलाई योगीश्वर मानिन्छ ।
हिमवत्खण्डपुराणको नीलकण्ठ उत्पत्तिनामक अध्याय अनुसार, अघि देवता र दानवहरूले समुद्र मन्थन गर्दा समुद्रबाट निस्केको लक्ष्मीलाई विष्णुले लिए, उच्चैश्रवा घोडा सूर्यले लिए, धनु स्कन्दले लिए, ऐरावत हात्ती र कल्पवृक्ष इन्द्रले लिए ।
अन्तमा समुद्रबाट निस्किएको हलाहल विषले संसारलाई दग्ध गर्न थालेको हुँदा शिवजीले संसारलाई दग्ध (निरश, सुख्खा) हुन नदिनको लागि त्यो विष खाइदिए । हलाहल विष कण्ठमा राखेका शिव विषको असरले क्षुब्ध भएको हुँदा राहत प्राप्तिका लागि नीलाद्रि यानी नीलकण्ठ हिमालतिर लागे ।
नीलाद्रिको नितम्बभाग (मध्यभाग) मा पुगेपछि भगवान् शिवले पाखामा रोपेको त्रिशूलबाट पानीको निर्मल तीनवटा धारा उत्पन्न भयो । हो त्यही तीन धाराको निर्मल पानीबाट दह्र (कुण्ड) तयार भयो । त्यस कुण्डमा नीलकण्ठ भगवान् शिव सुत्नु भयो र हलाहल विष साम्य भयो । यसरी नीलकण्ठ भगवान् शिव शान्तपूर्वक सुतेको हुनाले उक्त कुण्ड नीलकण्ठह्रद (गोसाइँकुण्ड) को नामबाट प्रख्यात भयो ।
नीलकण्ठह्रद (गोसाइकुण्ड), भैरवकुण्ड, सरस्वतीकुण्ड (ब्रह्मकुण्ड), चन्द्रकुण्ड, सूर्यकुण्ड, गौरीकुण्डसहित यस क्षेत्रमा साना ठूला १०८ कुण्ड छन् भन्ने विश्वास गरिन्छ ।
हिमवत्खण्डपुराणमा भैरवकुण्डमा विष्णु र सरस्वतीकुण्डमा ब्रह्माले शयन गर्नुभएको वर्णन पनि पाइन्छ । नीलकण्ठह्रद (गोसाइँकुण्ड) को तीर्थयात्रा दक्षिणावर्तनद्वारा गर्ने चलन छ ।
वेत्रगङ्गा (वेत्रावती) र त्रिशूलीको संगममा नुहाएर संकल्प गरी नीलाद्रिको तीर्थयात्रा गरी नीलकण्डह्रद (गोसाइँकुण्ड) मा स्नान गर्ने विधानको हिमवत्खण्डपुराणको नीलकण्ठतीर्थयात्राप्रकरणमा उल्लेख छ ।
गोसाइँकुण्डको स्नान गरेपछि कुण्डलाई दक्षिणावर्तले परिक्रमा गरी सुन्दरीजलको बाटोबाट आएर गोसाइँकुण्डको पवित्र जल, भैरवपाती र सुनपाती भगवान् पशुपतिनाथलाई चढाएर तीर्थयात्रीहरू घर फर्कने परम्परा रही आएको छ । नीलकण्ठह्रदलाई नेपाली भाषाको बोलीचालीको शब्दमा गोसाइँकुण्ड भने जस्तै यस कुण्डलाई नेपाल भाषामा शिलु भनिन्छ । मध्यकालिन ऐतिहासिक कागजपत्रहरूमा गोसाइँकुण्डलाई श्री ३ नीलकण्ठह्रद, नीलकण्ठ र शिवल्हुति भनेको पाइन्छ ।
शिव यो संस्कृत भाषाको शब्द हो भने ल्हुतिचाहिँ नेपाल भाषाको शब्द हो । ल्हुतिको अर्थ स्नान भन्ने हुन्छ । चैत्रशुक्लपूर्णिमालाई नेवारी भाषामा ल्हुतिपुन्हि भनिन्छ । यस दिन बालाजुको बाइसधारामा स्नानगर्ने परम्परा छ । अतः नेवारी भाषाको शिवल्हुति शब्दको अर्थ शिवस्नानतीर्थ भन्ने हुन आउँछ ।
हिमवत्खण्डपुराणको एउटा प्रसङ्गमा देवता र दानवहरूले समुद्रमन्थन गर्दा निस्केको हलाहल विष पिएर क्षुब्ध भएका नीलकण्ठ महादेव नीलकण्ठह्रद (गोसाइँकुण्ड)को मध्यभागमा गएर सुतेको उल्लेख छ भने हिमवत्खण्डपुराणकै नीलकण्ठमाहात्म्य देवलोकवरदानमाहात्म्य अध्यायमा चाहिँ कालान्तरमा महादेवका दोस्रो मूर्ति भीमसेन धेरै पर्वतहरू नाघेर नीलकण्ठह्रद (गोसाइँकुण्ड)को मध्यभागमा सुखसाथ सुतेको उल्लेख छ ।
हनुमानलाई त्रेतायुगमा महावीर र भीमसेनलाई द्वापरयुगको महावीर मानिन्छ । त्रेतायुग र द्वापरयुगका यी दुवै महावीरलाई रुद्रको अवतार हुन् भनेर विश्वास गरिन्छ ।
भीमसेन वा भीमेश्वरलाई व्यापारिक समृद्धिको देवता मानिन्छ । अतः व्यापारवृत्तिका नेवारहरू भीमसेन वा भीमेश्वरलाई व्यापारको मुख्य देवताको रूपमा मान्दछन् । एक पटक महादेव एउटा कुष्ठरोगीको रूपमा बाटोमा बसेर तीर्थयात्रीहरूसँग उनलाई पनि शिलुतीर्थ (गोसाइँकुण्ड) पुयाइदिनको लागि अनुनय गरिरहेका थिए, तर कसैले पनि वास्ता गरेनन् र सबै उनीबाट पर सरे ।
अन्त्यमा ललितपुरका एउटा ज्यापूले ती कुष्ठरोगीलाई बोकेर शिलुतीर्थ (गोसाइँकुण्ड) पुर्याइदिए । कुष्ठरोगी स्वयं भगवान् शिव थिए । भगवान् शिवको प्रसादबाट ती ज्यापू धनधान्यले पूर्ण भए भन्ने किंवदन्ती नेवार समुदायमा प्रचलित छ ।
शेर्पाहरूले गोसाइँकुण्डलाई घ्यो भन्दछन् भने तामाङहरूले चाहिँ ङ्ह्येँ भन्दछन् । शेर्पा भाषाको घ्यो र तामाङ भाषाको ङ्ह्येँ शब्द तिब्वती भाषाबाट आएको हो र यसले कुण्ड भन्ने अर्थ बुझाउँछ । हिजोआज अक्षयतृतीया, दशहरा र श्रावणशुक्लपक्षको पंचमीदेखि श्रावणशुक्लपूर्णिमासम्म गोसाईँकुण्डको स्नान गर्ने गरिन्छ ।
आषाढशुक्लपुर्णिमालाई गुरुपूर्णिमा मानिन्छ तापनि श्रावण शुक्लपुर्णिमाको सम्बन्ध ज्ञानसँग रहेकोले श्रावण शुक्लपूर्णिमाका दिन ज्ञानका स्रष्टा एवं द्रष्टा ऋषिहरूलाई श्रद्धाका साथ तर्पण गरिन्छ । यस दिन तागाधारीहरूले जनै फेर्ने हुँदा श्रावण शुक्लपूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।
तामाङ र शेर्पाका धामी, झाँक्रीहरूले ता श्रावणशुक्लपूर्णिमालाई नै गुरुपुर्णिमाको रूपमा मान्दछन् । अतः तामाङ र शेर्पाका धामी झाँक्रीहरू विद्या साध्नको लागि गोसाइँकुण्डको द्यौ धाम गर्न जाँदा सेतो जामा, मुजुरको प्वाँखको मुकुट, स–साना घण्टी र रुद्राक्षको माला लगाएर आफ्नो घरबाट नै बाटोभरी ढ्याङ्ग्रो ठोकेर विद्या फलाक्दै गोसाइँकुण्ड पुग्दछन् ।
झाँक्रीहरू गोसाइँकुण्ड पुगेपद्धि आफ्नो कलशमा त्रिशूलधाराको चोखोपानी भरेर त्यसमा भैरवपाती, सुनपाती र धूपी फूल सिउरन्छन् र विद्या साध्दछन् । गोसाइँकुण्डको द्यौ धाम सकेर घर फर्किएपछि आफ्नो साथमा गएका तीर्थयात्री र आफन्तहरूलाई भोज खुवाउँछन् ।
जनैपूर्णिमाको दिन गोसाइँकुण्ड जान नसकेका धामी, झाँक्रीहरू ललितपुरको कुम्भेश्वर कुण्डमा गोसाइँकुण्डको पानी आउँछ भन्ने विश्वास साथ विद्या साध्न आउँछन् । अघि एउटा जोगीको गोसाइँकुण्डमा हराएको लोटा कुम्भेश्वरको कुण्डमा फेला परेको थियो भन्ने किंवदन्ती यी दुई कुण्डबीच समन्वय स्थापना गर्न प्रचार गरेको बुझिन्छ ।
ललितपुरको कुम्भेश्वरकुण्डको अतिरिक्त काठमाडौँको पश्चिमपट्टिको पाँचमाने भञ्ज्याङमाथिको तारकेश्वर कुण्डमा पनि जनैपूर्णिमाको दिन मेला लाग्दछ र गोसाइँकुण्ड जान नसक्ने यस भेकका धामी, झाँक्रिहरू जनैपुर्णिमाका दिन द्यौ धाम गर्न यहाँ आएर विद्या साध्ने विधि विधान गर्दछन् । मध्यकालीन नेपालका राजा जयस्थिति मल्लको समयमा मरुसतल (काण्ठमण्डप)का कापालिकहरू प्रत्येक वर्ष गोसाइँकुण्ड मेला भर्न गइ त्यहाँबाट फर्केर आएपछि चक्रपूजा गरेर भोज खान्थे ।
हिजोआज पनि नाथ सम्प्रदायका कनफट्टा योगीहरू पात्रदेवतालाई जनैपुर्णिमाको अवसरमा मेला भर्न गोसाइँकुण्डमा लैजाने गर्दछन् ।
गोरखनाथ वा अरू कुनै सिद्धले प्रयोग गरेको नरकपालको आकृतिको पात्रदेवतालाई ६ महिना मृगस्थलीको गोरखनाथको अखडामा र ६ महिना चाहिँ दक्षिणकालीमा राखिन्छ ।
यसरी आजसम्म पनि प्रचलित यस परम्परालाई जयस्थिति मल्लको समयको उपर्युक्त प्रचलनको अवशेषको रूपमा मान्न सकिन्छ ।
प्रताप मल्लका छोरा पार्थिवेन्द्र मल्ल र महीपतेन्द्र मल्ल दुवै दाजु भाईले गोसाइँकुण्डको तीर्थयात्रा गरी श्रावणशुक्लपूर्णिमाको दिन पार्थिवेन्द्रमल्लले श्री ३ नीलकण्ठकुण्डको दक्षिणतिर शिवलिङ्ग स्थापना गरेका थिए । फर्कदा धेबुङ्गको बाटोगरी नुवाकोट आएर श्री ३ गण्डकी भैरवको पूजा गरेर कान्तिपुर आएका थिए । कान्तिपुरका मल्ल राजाहरू राजगद्दीमा बसेको पहिलो वा दोश्रो वर्षमा गोसाइँकुण्डको स्नान गर्ने गर्दथे ।
पृथ्वीनारायण शाहले आफूलाई खड्ग सिद्धि गरिदिए वापत काशीका सिद्ध गुलाबराम अबस्तीलाई गोसाइँकुण्ड जाने तीर्थयात्रीहरूको सुविधाको लागि सदावर्तको गुठी राख्न नुवाकोटको धैबुङ्ग बिर्ता दिएका थिए, सदावर्त चलाउने जिम्मा निजले मुख्तियार रङ्गनाथ पौडेलका बाजे जयमङ्गल पौडेलले पाएका थिए ।
वि.सं. १९१८ मा जङ्गबहादुर राणाले गोसाइँकुण्डको यात्रा गरेका थिए । गोसाइँकुण्डप्रति केवल शेर्पा र तामाङका धामी, झाँक्रि, तिब्वती लामा, बौद्ध धर्मका अनुयायी र स्थानीय जनता मात्र नभएर बौद्ध नेवारहरूका अतिरिक्त नेपाल र भारतका हिन्दूधर्मावलम्बीहरूको श्रद्धा र विश्वास रहेको छ ।
सुगौली सन्धिपछि शात्किो शास फेर्न बडाकाजी अमरसिंह थापा गोसाइँकुण्ड गएका थिए र त्यहीँ नै उनले आफ्नो देश त्याग गरेका थिए । सप्तगण्डकीमध्ये कालीगण्डकपको मुहान् दामोदरकुण्डलाई शिवसँग सम्बद्ध मानिएको छ ।
विष्णु र शिवको अभेदात्मक मतको नाम हरिहर मत हो । काली र त्रिशूली यी दुवै नदीको संगम देवघाटलाई हरिहरक्षेत्र भनेर मानिएको छ । यस परिप्रेक्ष्यमा नीलकण्डह्रद (गोसाइँकुण्ड)को प्राकृतिक, धार्मिक महत्त्व उच्च छ ।