arrow

विभेदः न मानवसँग न प्रकृतिसँग 

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८२ जेठ ३१ शनिबार
badri-ojha-82-2-31.jpg

गाउँघरमा एउटा उखान छ  – कुन ता कि बुहारी भटमास खाकी । महिला, त्यसमा पनि बुहारी । अझ धान नफल्ने ठाउँकी । कति पेलिएकी हुँदिहुन् । 

पुरुष प्रधान समाजमा महिलामाथि यस्तै विभेद गरिन्छ । नयाँ कुरो भएन । अझ आफ्नो संस्कारमाथि आयातित संस्कार हावी भएपछि झन् यस्ता विभेदका कुरा अझ बढी उब्जिन्छन् । 

यसोभन्दा अधिकारकर्मीहरुलाई टाउको नदुखोस्, मेरो भनाइको अर्थ विभेद पालौँ भन्ने होइन, बरु विभेद टार्नका लागि अर्को विभेद नजन्माउँ मात्र भन्न खोजेको हो । 

वामविचारकहरुले यसलाई सामन्ती संस्कार मान्दछन् तर वामपन्थीकै सरकार चलेका र ढलेका मुलुकमा पनि महिलालाई पूजा भने गरिँदैन । 

त्यहाँ पनि विभेद छ । 

फेरि पनि भनौँ यहाँ पनि विभेद गरौँ भन्न खोजिएको होइन । फेरि महिला अधिकारकर्मीहरुको कोकोहोलो सुन्नु नपरोस् ।
 
विभेद एक किसिमको पछौटे मानसिकता हो ।
 
कतिपयका घरमा यसैलाई आधार बनाएर चुलो बल्छ । दूधभातको जोहो गर्ने विषय बनेको छ, सामाजिक विभेद । 

आधुनिक समाजमा मानिसको मात्र नभई सारा चराचर प्राणीको बाँच्न पाउने, खान पाउने र हाँस्न पाउने अधिकार रहन्छ । जुन दिन यो अधिकार खोसिन्छ, त्यही दिन प्रकृतिले दण्ड दिन्छ । १२ वर्षमा खोलो फर्किन्छ भन्ने शास्त्रले मात्र नभइ मौसम विज्ञानले पनि मान्दछ । 

अस्ति रामेछापको फर्पूमा किसानहरुको भेलामा एउटी आमा बेसरी रिसाइन् । कारण थियो – बाँदरले दिएको सास्ती ।

जब बाँदरको कुरो उठ्यो मैले पनि भनिदिएँ – तपाईं जंगल फाँडेर बारी बनाउने अनि उसको घर मासिएपछि तपाईंँको घरमा नआएर कहाँ जाओस् त । 

आमै जुरुक्क उठेर कुट्न तयार भइन् । शान्त, शान्त, भनेपछि मुर्मुरिँदै बसिन् । 

 लामो छलफल चल्यो र निष्कर्षमा पुगियो, अब वनमा फलफूल तथा अन्नपात रोपौँ ताकि बाँदर उतै खानपान गरेर बसोस् । पानीका पोखरी बनाइदिउँ, उनीहरु पानी खाने निहुँमा हाम्रा घर नधाउन् भन्ने कुरोमा सहमति बन्यो । 

वडाध्यक्षले यस पटकदेखि सामुदायिक वनमा फलफूल, वन केरा लगाउने र खाली जमीनमा पानी पोखरी खन्ने कार्यक्रम सुनाए । 

जुनदिन बाँदरमाथिको विभेद कम हुन्छ, त्यस दिनमात्र किसानको बाली सुरक्षित हुन्छ भन्नेमा सबै सहमत भए ।

बिहान उठ्नासाथ छिमेकमा खसी हानियो । 

खसी हान्नेले काट्न बेसरी ताने । खसी त करायो नै उसको विलौना सुनेर छेउँमा टाट्नामा बाँधिएकी उसकी आमा पनि चिच्याई । 

हुन त बाख्रा पूजा गर्न पालिँदैन तर जब उसलाई मर्दैछु भन्ने थाहा हुन्छ उसले शरीरमा उत्पादन गर्ने त्रसित ग्रन्थीले मासुखानेलाई पनि राम्रो गर्दैन भन्ने वैज्ञानिक तथ्य छ । यसो भन्दा मासुवालाहरु बुरुक्क उफ्रिए । म चुप लागेँ । 

यता सहरमा खोलो मिचेर बनेका घरहरुलाई पोहोर सालको बेमौसमी बाढीले दण्ड दियो । अस्पतालबाट रातारात बिरामी सार्नुपरेको थियो । 

अधिकार भन्ने विषय पढेकी बुहारीको मात्र होइन, अनपढ सासुको पनि हो । अथवा धनी सासुको मात्र होइन, गरिब परिवारबाट भित्र्याइएकी बुहारीको पनि हो भन्ने नबिर्सए राम्रैहोला । 

यी सबै पात्रहरुको अधिकारको सम्मान नभएसम्म हामी अघि बढ्दैनौं । त्यसैले विभेद मानवबीचमा मात्र होइन । प्रकृतिमाथि पनि नगरौँ । 

भुइँ सजाउन ओछ्याइएका टायलले हामीलाई नै बिरामी पार्छ, विदेशीलाई होइन । 

यतिका गनगनको एउटै अर्थ छ, त्यो हो आधुनिकता कसरी गाउँ पस्यो र कसरी मानव आधुनिकताका नाममा रोग किन्दैछ भन्ने विषय । 

कुरो पर्यो कास्की हेम्जाकोटको ।

ठाउँ यति सुन्दर छ कि यतै बसुँ लाग्ने । स्वीट्जरल्यान्डको यङफ्राउभन्दा पनि सुन्दर ।

मान्छे पनि अति नै असल ।

गाउँ पस्ने गेटैमा छ यो तस्बिरमा देखिने स्वास्थ चौकी । सुन्दर अनुहारमा पाकेको ठूलो डण्डीफोर जस्तै । 

छतमा मोबाइलको टावर । 

यस स्वास्य केन्द्रमा उपचार गर्न आउने कतिले क्यान्सरका कोष बोकेर गाउँ फर्के होलान् । यसमा काम गर्नेहरुलाई सोध्न मन लागेको थियो तर किन बढी जान्ने भएर रामेछापमा जस्तो गाली खानु भनेर चुँ गरिएन । रीस यता पोख्न मन लाग्यो । 

नेपालको ग्रामीण भूगोलमा दूरसञ्चार सेवा विस्तार गर्नु आवश्यक छ तर यसो गर्दा त्यसले जनस्वास्थ्यमा पार्न सक्ने असरलाई बेवास्ता गर्नु गम्भीर विषय हो । 

स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्रकै छानामा यस्तो संरचना राखिँदा स्थानीय बासिन्दा र स्वास्थ्यकर्र्मीहरूलाई चिन्ता लाग्नुपर्ने हो तर देखिएन । पालिका अध्यक्षलाई भने दुःखेसो पोखियो । 

कृषि अनुदानको प्रभावकारिता अध्ययनका क्रममा त्यहाँ पुगियो । बाटोमा बेसरी गाडी ठोक्दिएर मनै अमिलो पारेका मेरा सहकर्मी कृषि इन्जिनियर बुद्धिनाथ तिम्सिना पनि टावरप्रति चिन्तित भए । उनले पनि सुझाव दिए । हेरौँ अर्को वर्ष जाँदा सुधार होला कि । 

अध्येताहरुका अनुसार मोबाइल टावरबाट निस्कने विकिरण वास्तवमै मानव स्वास्थ्यका लागि घातक हुन्छ ।

 आउनुहोस् यसबारे विश्वभर गरिएका अनुसन्धान र तिनका निष्कर्षले के भन्छन् भन्नेबारे चर्चा गरौँ ।

अध्येताहरुका अनुसार मोबाइल टावरबाट उच्च आवृत्तिको रेडियो फ्रिक्वेन्सी  विकिरण उत्सर्जित हुन्छ । ती विकिरण ननआयोनाइजिङ विकिरण वर्गमा पर्दछन् । 

यस किसिमको विकिरणले एक्स रे वा गामा रेले जस्तो प्रत्यक्ष रुपमा प्राणीको डीएनएमा क्षति पुर्याउने खतरा हुँदैन तर निरन्तर सम्पर्कमा रहँदा यसको असर भने पर्छ । 

विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले मोबाइल र यसको टावरबाट निस्कने विकिरणले प्राणीहरुमा क्यान्सरको कोष निर्माण गर्ने निष्कर्ष निकालेको छ । 

अमेरिकी सरकारको नेशनल टक्सिकोलोजी प्रोग्रामले मुसामा गरेको अध्ययनअनुसार मोबाइल टावरबाट प्राप्त हुने विकिरणले मष्तिष्क तथा मुटुमा ट्युमर पलाउँछ । 

युरोपेली वातावरण एजेन्सीले यस्तो विकिरणले चराचर जगतलाई बिरामी पार्ने जनाउँदै टावर मानव बस्तीबाट टाढा राख्नुपर्ने तथा राखिएका क्षेत्रमा अन्य पशुपन्छी पनि पाल्न नहुने सुझाव दिएको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार मोबाइल तथा यसको टावरले आसपासमा बस्नेहरुलाई अनिद्रा, थकान तथा मन्दबुद्धिको समस्या बढछ । 

यो विषय याम्जाकोटेहरुलाई मात्र होइन, समग्र नेपालीका लागि हो । 

यहाँ भटमास खाने बुहारीलाई तर्साउन छोरी पिटिएको मात्र हो । 

यति पर किन जानु, हाम्रै सहरमा यस्ता टावर कति छन् कति । 

कसैले अदालतमा मुद्दा हालिदिए हुने हो ।

गर्नु चाहिँ के पर्छ त ? 

मोबाइल टावरलाई मानव बस्तीबाट टाढा राख्नुपर्छ । जंगलमा राखे हुन्छ तर त्यस क्षेत्रका प्राणीबारे वन मन्त्रालयसँग सुझाव लिनुुपर्छ । सहरमा परेवा र भँगेरा घट्दै गएका समाचार यदाकदा आउने गरेको विषयलाई बिर्सनु हुँदैन । 

स्थानीयबासीलाई मोबाइल विकिरणको सम्भावित असरबारे सचेत गराउँदै वैज्ञानिक जानकारीमा आधारित बहस चलाउनु पर्छ । 

नेपालमा मोबाइल टावर स्थापनाका लागि वस्ती, अस्पताल वा विद्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नुपर्दछ । 

यसका लागि स्पष्ट कानूनी व्यवस्था आवश्यक छ । बेलैमा चेतना भया । (लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ