गाउँघरमा एउटा उखान छ – कुन ता कि बुहारी भटमास खाकी । महिला, त्यसमा पनि बुहारी । अझ धान नफल्ने ठाउँकी । कति पेलिएकी हुँदिहुन् ।
पुरुष प्रधान समाजमा महिलामाथि यस्तै विभेद गरिन्छ । नयाँ कुरो भएन । अझ आफ्नो संस्कारमाथि आयातित संस्कार हावी भएपछि झन् यस्ता विभेदका कुरा अझ बढी उब्जिन्छन् ।
यसोभन्दा अधिकारकर्मीहरुलाई टाउको नदुखोस्, मेरो भनाइको अर्थ विभेद पालौँ भन्ने होइन, बरु विभेद टार्नका लागि अर्को विभेद नजन्माउँ मात्र भन्न खोजेको हो ।
वामविचारकहरुले यसलाई सामन्ती संस्कार मान्दछन् तर वामपन्थीकै सरकार चलेका र ढलेका मुलुकमा पनि महिलालाई पूजा भने गरिँदैन ।
त्यहाँ पनि विभेद छ ।
फेरि पनि भनौँ यहाँ पनि विभेद गरौँ भन्न खोजिएको होइन । फेरि महिला अधिकारकर्मीहरुको कोकोहोलो सुन्नु नपरोस् ।
विभेद एक किसिमको पछौटे मानसिकता हो ।
कतिपयका घरमा यसैलाई आधार बनाएर चुलो बल्छ । दूधभातको जोहो गर्ने विषय बनेको छ, सामाजिक विभेद ।
आधुनिक समाजमा मानिसको मात्र नभई सारा चराचर प्राणीको बाँच्न पाउने, खान पाउने र हाँस्न पाउने अधिकार रहन्छ । जुन दिन यो अधिकार खोसिन्छ, त्यही दिन प्रकृतिले दण्ड दिन्छ । १२ वर्षमा खोलो फर्किन्छ भन्ने शास्त्रले मात्र नभइ मौसम विज्ञानले पनि मान्दछ ।
अस्ति रामेछापको फर्पूमा किसानहरुको भेलामा एउटी आमा बेसरी रिसाइन् । कारण थियो – बाँदरले दिएको सास्ती ।
जब बाँदरको कुरो उठ्यो मैले पनि भनिदिएँ – तपाईं जंगल फाँडेर बारी बनाउने अनि उसको घर मासिएपछि तपाईंँको घरमा नआएर कहाँ जाओस् त ।
लामो छलफल चल्यो र निष्कर्षमा पुगियो, अब वनमा फलफूल तथा अन्नपात रोपौँ ताकि बाँदर उतै खानपान गरेर बसोस् । पानीका पोखरी बनाइदिउँ, उनीहरु पानी खाने निहुँमा हाम्रा घर नधाउन् भन्ने कुरोमा सहमति बन्यो ।
वडाध्यक्षले यस पटकदेखि सामुदायिक वनमा फलफूल, वन केरा लगाउने र खाली जमीनमा पानी पोखरी खन्ने कार्यक्रम सुनाए ।
जुनदिन बाँदरमाथिको विभेद कम हुन्छ, त्यस दिनमात्र किसानको बाली सुरक्षित हुन्छ भन्नेमा सबै सहमत भए ।
बिहान उठ्नासाथ छिमेकमा खसी हानियो ।
खसी हान्नेले काट्न बेसरी ताने । खसी त करायो नै उसको विलौना सुनेर छेउँमा टाट्नामा बाँधिएकी उसकी आमा पनि चिच्याई ।
हुन त बाख्रा पूजा गर्न पालिँदैन तर जब उसलाई मर्दैछु भन्ने थाहा हुन्छ उसले शरीरमा उत्पादन गर्ने त्रसित ग्रन्थीले मासुखानेलाई पनि राम्रो गर्दैन भन्ने वैज्ञानिक तथ्य छ । यसो भन्दा मासुवालाहरु बुरुक्क उफ्रिए । म चुप लागेँ ।
यता सहरमा खोलो मिचेर बनेका घरहरुलाई पोहोर सालको बेमौसमी बाढीले दण्ड दियो । अस्पतालबाट रातारात बिरामी सार्नुपरेको थियो ।
अधिकार भन्ने विषय पढेकी बुहारीको मात्र होइन, अनपढ सासुको पनि हो । अथवा धनी सासुको मात्र होइन, गरिब परिवारबाट भित्र्याइएकी बुहारीको पनि हो भन्ने नबिर्सए राम्रैहोला ।
यी सबै पात्रहरुको अधिकारको सम्मान नभएसम्म हामी अघि बढ्दैनौं । त्यसैले विभेद मानवबीचमा मात्र होइन । प्रकृतिमाथि पनि नगरौँ ।
भुइँ सजाउन ओछ्याइएका टायलले हामीलाई नै बिरामी पार्छ, विदेशीलाई होइन ।
यतिका गनगनको एउटै अर्थ छ, त्यो हो आधुनिकता कसरी गाउँ पस्यो र कसरी मानव आधुनिकताका नाममा रोग किन्दैछ भन्ने विषय ।
कुरो पर्यो कास्की हेम्जाकोटको ।
ठाउँ यति सुन्दर छ कि यतै बसुँ लाग्ने । स्वीट्जरल्यान्डको यङफ्राउभन्दा पनि सुन्दर ।
मान्छे पनि अति नै असल ।
गाउँ पस्ने गेटैमा छ यो तस्बिरमा देखिने स्वास्थ चौकी । सुन्दर अनुहारमा पाकेको ठूलो डण्डीफोर जस्तै ।
छतमा मोबाइलको टावर ।
यस स्वास्य केन्द्रमा उपचार गर्न आउने कतिले क्यान्सरका कोष बोकेर गाउँ फर्के होलान् । यसमा काम गर्नेहरुलाई सोध्न मन लागेको थियो तर किन बढी जान्ने भएर रामेछापमा जस्तो गाली खानु भनेर चुँ गरिएन । रीस यता पोख्न मन लाग्यो ।
नेपालको ग्रामीण भूगोलमा दूरसञ्चार सेवा विस्तार गर्नु आवश्यक छ तर यसो गर्दा त्यसले जनस्वास्थ्यमा पार्न सक्ने असरलाई बेवास्ता गर्नु गम्भीर विषय हो ।
स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्रकै छानामा यस्तो संरचना राखिँदा स्थानीय बासिन्दा र स्वास्थ्यकर्र्मीहरूलाई चिन्ता लाग्नुपर्ने हो तर देखिएन । पालिका अध्यक्षलाई भने दुःखेसो पोखियो ।
कृषि अनुदानको प्रभावकारिता अध्ययनका क्रममा त्यहाँ पुगियो । बाटोमा बेसरी गाडी ठोक्दिएर मनै अमिलो पारेका मेरा सहकर्मी कृषि इन्जिनियर बुद्धिनाथ तिम्सिना पनि टावरप्रति चिन्तित भए । उनले पनि सुझाव दिए । हेरौँ अर्को वर्ष जाँदा सुधार होला कि ।
अध्येताहरुका अनुसार मोबाइल टावरबाट निस्कने विकिरण वास्तवमै मानव स्वास्थ्यका लागि घातक हुन्छ ।
आउनुहोस् यसबारे विश्वभर गरिएका अनुसन्धान र तिनका निष्कर्षले के भन्छन् भन्नेबारे चर्चा गरौँ ।
अध्येताहरुका अनुसार मोबाइल टावरबाट उच्च आवृत्तिको रेडियो फ्रिक्वेन्सी विकिरण उत्सर्जित हुन्छ । ती विकिरण ननआयोनाइजिङ विकिरण वर्गमा पर्दछन् ।
यस किसिमको विकिरणले एक्स रे वा गामा रेले जस्तो प्रत्यक्ष रुपमा प्राणीको डीएनएमा क्षति पुर्याउने खतरा हुँदैन तर निरन्तर सम्पर्कमा रहँदा यसको असर भने पर्छ ।
विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले मोबाइल र यसको टावरबाट निस्कने विकिरणले प्राणीहरुमा क्यान्सरको कोष निर्माण गर्ने निष्कर्ष निकालेको छ ।
अमेरिकी सरकारको नेशनल टक्सिकोलोजी प्रोग्रामले मुसामा गरेको अध्ययनअनुसार मोबाइल टावरबाट प्राप्त हुने विकिरणले मष्तिष्क तथा मुटुमा ट्युमर पलाउँछ ।
युरोपेली वातावरण एजेन्सीले यस्तो विकिरणले चराचर जगतलाई बिरामी पार्ने जनाउँदै टावर मानव बस्तीबाट टाढा राख्नुपर्ने तथा राखिएका क्षेत्रमा अन्य पशुपन्छी पनि पाल्न नहुने सुझाव दिएको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार मोबाइल तथा यसको टावरले आसपासमा बस्नेहरुलाई अनिद्रा, थकान तथा मन्दबुद्धिको समस्या बढछ ।
यो विषय याम्जाकोटेहरुलाई मात्र होइन, समग्र नेपालीका लागि हो ।
यहाँ भटमास खाने बुहारीलाई तर्साउन छोरी पिटिएको मात्र हो ।
यति पर किन जानु, हाम्रै सहरमा यस्ता टावर कति छन् कति ।
कसैले अदालतमा मुद्दा हालिदिए हुने हो ।
गर्नु चाहिँ के पर्छ त ?
मोबाइल टावरलाई मानव बस्तीबाट टाढा राख्नुपर्छ । जंगलमा राखे हुन्छ तर त्यस क्षेत्रका प्राणीबारे वन मन्त्रालयसँग सुझाव लिनुुपर्छ । सहरमा परेवा र भँगेरा घट्दै गएका समाचार यदाकदा आउने गरेको विषयलाई बिर्सनु हुँदैन ।
स्थानीयबासीलाई मोबाइल विकिरणको सम्भावित असरबारे सचेत गराउँदै वैज्ञानिक जानकारीमा आधारित बहस चलाउनु पर्छ ।
नेपालमा मोबाइल टावर स्थापनाका लागि वस्ती, अस्पताल वा विद्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नुपर्दछ ।
यसका लागि स्पष्ट कानूनी व्यवस्था आवश्यक छ । बेलैमा चेतना भया । (लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)