इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, प्रसारण केही छिनमै पुनः शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
1.8k
Shares
काठमाडौँ । इरानको सरकारी टेलिभिजनले सोमबार इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को केन्द्रीय कार्यालयमा आक्रमण भएको जनाएको छ। आक्रमणको केही समयपछि नै आईआरआईबीले पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरु गरेको थियो।
सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले घटनाबारे जानकारी दिँदै भने, "इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेटअघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ।"
उनले प्रत्यक्ष प्रसारणबाट थपे, "इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबाहीबाट दबाउन सकिँदैन भन्ने तथ्यबारे इजरायल अनभिज्ञ देखियो।"
यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी 'तिनीहरूलाई ध्वस्त पारिदिने' बताएका थिए। उनले एक विज्ञप्ति जारी गरी भनेका थिए, "इरानी प्रोपोगान्डा र उक्साउने 'मेगाफोन' ध्वस्त हुन लागेको छ।" उनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन उर्दीसमेत जारी गरेका थिए।
त्यसैगरी, इजरायली सेनाले पनि सोमबार नै राजधानीको उत्तरी 'डिस्ट्रिक्ट थ्री' को एक भागका बासिन्दालाई 'तत्काल' त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो।