'यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्काशन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ'
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
2.1k
Shares
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुको पोशाकको चर्चा भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनमा मर्यादित पोशाकमा सांसद आउनुपर्ने नियमावलीमा लेखिएको भए पनि केही सांसदले लगाएको ‘स्काफ’प्रति आपत्ति जनाए ।
“सदनमा अमान्य हुने पोशाक लगाएर पनि आउन थालियो भने त्यसले संसद्को मर्यादा र गरिमा जोगाउँदैन, यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्काशन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ”, उनले भने ।
स्काफ भिरेरै रास्वपाका सांसदहरुले संसदमा नाराबाजी गरेपछि कांग्रेसले नियमापत्ति जनाउँदै रास्वपा सांसदहरूलाई निष्कासन गर्न सभामुखसमक्ष माग गरेको हो ।
रास्वपा सांसदहरु निलो रिवन लगाएर प्रतिनिधि सभा बैठकमा उपस्थिति भएका हुन् । निलो रिवनले मानव तस्करी विरूद्धको अभियानलाई जनाउँछ ।
यता बैठक रास्वपाले अवरुद्ध गरेको छ । सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि रास्वपाले बोलेपछि ‘वेल’ घेराउ गर्न पुगे । रास्वपाको विरोधपछि आधा घण्टाका लागि स्थगन भएको छ ।
निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए । ‘भिजिट भिसा’का नाममा मानव तस्करी भइरहेको भन्दै ती दलले निष्पक्ष अनुसन्धान नभएसम्म सदनको अवरोध जारी रहने बताउँदै आएका छन् ।
प्रतिपक्षी सांसदले विरोध गरेपछि सभामुख घिमिरेले रास्वपाकी सांसद चन्दा भण्डारी कार्कीलाई आफ्ना विषय राख्न समय दिए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी रोक्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन होस्”, उनले सदनको अवरोध अन्त्य गर्ने सूत्र सुनाउँदै भनिन् ।
रास्वपाको विरोधपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक ३० मिनेटपछि बस्ने गरी स्थगन भएको घोषणा गरे ।