एनएमबि बैङ्कद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
456
Shares
काठमाडौँ। एनएमबि बैङ्क लिमिटेड तथा काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।
एनएमबि बैङ्क लिमिटेडको तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैङ्किङ तथा काङ हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर पश्चात् एनएमबि बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गरेका छन्।
सोही कार्यक्रममा एनएमबि बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सीमा भित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखी सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे। गणेश प्रसाद सुब्बाले एनएमबि बैङ्क लिमिटेडलाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समय सीमामा सम्पन्न गर्ने प्रतिबद्धता समेत जाहेर गरी कार्यक्रमको समापन गरे।
एनएमबि बैङ्क लिमिटेडले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ। नेपाल राष्ट्र बैङ्कबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२ को निर्देशन अनुसार एनएमबि बैङ्कले वातावरणीय तथा सामाजिक नीति तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैङ्कले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ।