arrow

इजरायली आक्रमणले इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा 'प्रत्यक्ष प्रभाव': आईएईए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
missile-iran-israel.jpg

काठमाडौँ। इजरायलले गरेको आक्रमणका क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा 'प्रत्यक्ष प्रभाव' परेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले मङ्गलबार जनाएको छ।

आइएइएले यसअघि युरेनियम संवर्द्धन केन्द्रको जमिनभन्दा माथिको भाग र विद्युतीय संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गर्दै यसको कुनै सङ्केत नभएको बताएको थियो। तर, एक्समा सम्प्रेषित एक विज्ञप्तिमा आइएइएले भन्यो, "शुक्रबारको आक्रमणपछि सङ्कलन गरिएको स्याटेलाइट तस्वीरको निरन्तर विश्लेषणको आधारमा आइएइएले नतान्जमा भूमिगत संवर्द्धन कक्षहरूमा प्रत्यक्ष प्रभावहरू सङ्केत गर्ने थप जानकारी पहिचान गरेको छ।" आइएइएले यस विषयमा थप विवरण उपलब्ध गराएको छैन।

नातान्जले आफ्ना दुई संवर्द्धन प्लान्टहरूमा युरेनियम संवर्द्धन गर्न प्रयोग गरिने ७० वटा उपकरणहरूलाई प्रयोगमा ल्याएको छ। तीमध्ये एउटा प्लान्ट भूमिगत छ।

तेहरानले आणविक अस्त्र विकास गर्न लागेको भनी गरिएका दाबीहरूको खण्डन गर्दै आएको छ, तर ६० प्रतिशतसम्म युरेनियम संवर्द्धन गर्दै आएको छ। यो मात्रा सन् २०१५ मा अमेरिका र इरानले प्रमुख शक्तिराष्ट्रहरूसँग गरेको सम्झौताले निर्धारण गरेको ३.६७ प्रतिशतको सीमाभन्दा निकै बढी हो।

इरानले तीनदेखि पाँच प्रतिशतसम्म संवर्द्धित युरेनियमलाई आणविक ऊर्जा प्लान्टमा विद्युत् उत्पादनका लागि प्रयोग गरिएको तथा २० प्रतिशतसम्म संवर्द्धित युरेनियमलाई चिकित्सा प्रयोग (क्यान्सर रोगको निदान) का लागि आइसोटोप उत्पादन गर्न प्रयोग गरिएको जनाउने गरेको छ। आणविक बम निर्माण गर्न संवर्द्धनलाई ९० प्रतिशतमा धकेल्नुपर्छ।

आइएइएका प्रमुख राफेल ग्रोसीले आफू तत्काल इरान जान इच्छुक रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ