arrow

नेपालकै पहिलो एआई अन्तर्राष्ट्रिय सम्मेलन बिर्तामोडमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
artificial-i-educationHK.jpg
तस्बिर – फाइल ।

बिर्तामोड । नेपालको प्रविधि इतिहासमा नयाँ अध्याय शुरु हुँदै गर्दा इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (आईसीआरटीएआई २०२५) नामक अन्तर्राष्ट्रिय सम्मेलन आउँदो असार १४ र १५ झापाको बिर्तामोडमा हुने भएको छ । 

सम्मेलनको आयोजना नुमा डिजिटल फर्मले गर्दैछ । सह–आयोजकको रूपमा मेची बहुमुखी क्याम्पस सहभागी रहेको छ । नेपालमा हालै डिजिटल नेपाल अभियान, ई-गभर्नेन्स नीति र इनोभेसन इनक्युबेसनका क्षेत्रहरू विस्तार हुँदै गएका छन् । 

यिनै प्रवृत्तिहरूको सन्दर्भमा आईसीआरटीएआई २०२५ ले नेपालको स्थानीय आवश्यकतामा आधारित उत्तरदायी र समावेशी एआई विकासको खाका तयार गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ ।

आयोजकका अनुसार नेपालको बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधता भएको देशमा एआई को प्रयोगले पहुँच अभाव, दक्ष जनशक्ति अभाव, तथा नीतिगत स्पष्टता अभावजस्ता समस्यालाई अवसरमा रूपान्तरण गर्न सक्छ । एआई प्रविधिहरूले स्वास्थ्यमा टेलिमेडिसिन, शिक्षामा स्वचालित मूल्याङ्कन, र कृषिमा स्मार्ट निगरानी प्रणालीको विकासलाई व्यवहारिक बनाउँछ ।

यसले ल्याउने नैतिक, सामाजिक र नीतिगत चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक तयारी र समन्वय अपरिहार्य छ। आईसीआरटीएआई २०२५ को विशेषता भनेकै एआई नीति, अनुसन्धान, नवप्रवर्तन र शिक्षा क्षेत्रलाई एउटै मंचमा ल्याउने हो ।

सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स्, र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन् ।

शर्माका अनुसार आईसीआरटीएआई २०२५ केवल प्रविधि प्रदर्शन गर्ने मञ्च होइन। यो सम्मेलनले नीति निर्माण, सार्वजनिक संवाद र विद्यार्थी नेतृत्वलाई एउटै प्रवाहमा जोड्नेछ। सम्मेलनको कन्फरेन्स प्लस अनकन्फरेन्स ढाँचा नेपालको सम्मेलन संस्कृतिमा नयाँ प्रयोग हुनेछ ।

अनकन्फरेन्स ट्रयाकहरूमा सहभागीहरूले आफूले चाहेका विषयमा सत्र प्रस्ताव गर्न सक्नेछन् — जस्तै भाषागत एआई, ग्रामीण स्वास्थ्य सेवामा एआई, अथवा महिला र समावेशी डेटा नीति। यसले सहभागीहरूलाई श्रोतामात्र होइन, सह-निर्माता बनाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ