संसदमा प्रतिकात्मक विरोध स्वभाविक – अर्जुननरसिंह केसी
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
5.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले संसदमा प्रतिकात्मक विरोध स्वभाविक भएको बताएका छन् ।
मंगलबारको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले निलो रिबन (मानव तस्कर विरुद्धको अभियान) लगाएर गएसँगै त्यसलाई सांसद केसीले उक्त प्रतिकात्मक विरोध स्वभाविक भएको बताएका हुन् ।
संसदमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनमा मर्यादित पोशाक लगाएर सांसद आउनेपर्ने नियमावलीमा भएको उल्लेख गरेर सबैलाई एकरुपता ल्याउनका लागि सभामुखको ध्यानाकर्षण गराउनु अन्यथा नभएकोसमेत सांसद केसीले बताए ।
उनले संसारभरिकै संसदमा पोशाकको कोड रहेको र नियमानुसार चलेको उल्लेख गर्दै प्रमुख सचेतकले जनाएको आपत्तिलाई अन्यथा लिन नहुने बताए ।
तर सांसद केसीले विश्वभरमै विरोधका लागि विभिन्न पहिरन लगाएर संसदभित्र गएका उदाहरण रहेकाले रास्वपाको विरोधलाई पनि अन्यथा लिन नहुनेतर्फ संकेत गरे ।
उनले भने, ‘भारतमा कृषि विधेयकको सम्बन्धमा सांसदले कालोपट्टी बाँधेर संसदभित्र विरोध जनाएको, बेलायतमा ब्रेक्जिटको विरोधमा सांसदले काटो टिशर्ट लगाएर गएको, अमेरिकामा मिटु अभियानमा महिला सांसदले मिटु विरोधी अभियानको टिशर्ट लगाएको र अष्ट्रेलियामा ग्रीन पार्टीहरुले हरियो टिशर्ट लगाएर उपस्थित भएका थिए । धेरै ठाउँमा यस किसिमका विरोधका प्रकृति देखिन्छन् ।’
उनले थप स्पष्ट पार्दै भने, ‘यी चलेका विरोधका प्रकृति मर्यादाभित्र पर्छ कि पर्दैन भन्ने भन्दा पनि विरोधको स्वरुपको बारेमा हो । नेपालमा त संसदमै कुर्सी भाँचाभाँच भएको छ तर संसारव्यापी रुपबाट यी संसदमा विरोधका प्रतिकात्मक तरिकाहरु हुन् । यसलाई प्रुमख सचेतकजीले मर्यादाको कुरा उठाउनु भएकोमात्र हो ।’
नेपालमै यसअघि यस्ता किसिमका गतिविधिहरु भएको स्मरण गर्दै सांसद केसीले भने, ‘कुर्सी भाँच्ने, ब्रिफकेस खोस्ने र सभामुखमाथि जुत्ता प्रहार गर्ने अमर्यादित काम त भएकै हुन् २०७२ को संविधान जारी भएपछि मधेसवादी दलका सांसदले संसदमै धोती कुर्ता लगाएरमात्र होइन कालो पट्टी बाँधेरै विरोध गरेका थिए ।’
केसीले फेरि दोहोर्याउँदै भने, ‘प्रतिकात्मक विरोध संसारभर चलेको हो । यद्यपि सांसदहरुलाई एउटा निश्चित पोशाकमा बाँधेर राख्न सकियो भने राम्रो हुन्छ, मर्यादित हुन्छ भन्ने दृष्टिकोणले प्रमुख सचेतकले विषय उठाउनु भएको हो । संसदमा शाेभनीय प्रदर्शन गर्नुपर्यो भन्ने हो ।’