नक्कलीलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउ [भिडियो]
नक्कली महानगर यातायातले यात्रु र कम्पनीलाई समस्यामा पार्यो: अध्यक्ष खतिवडा
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
674
Shares
काठमाडौं। महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नाम, रङ्ग र डिजाइनसमेत नक्कल गरी एउटै रुटमा सञ्चालन भइरहेका नक्कली महानगर यातायातका कारण कम्पनी र यात्रु दुवैले ठूलो समस्या भोग्नुपरेको बताएका छन्। यस विषयमा पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै कारबाही नभएकोमा उनले दुःख व्यक्त गरे।
अध्यक्ष खतिवडाले विद्यमान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको सुरुवाती दिनदेखि नै नक्कली बसहरू सोही रुटमा निर्वाध सञ्चालन हुनु र नियमनकारी निकायले ध्यान नदिनु दुर्भाग्यपूर्ण भएको स्पष्ट पारे। लाखौँ यात्रुको सेवा र सुरक्षासँग जोडिएको यो विषयमा लापरबाही भइरहेको उनको भनाइ छ।
उनका अनुसार, यात्रुहरूले राता बसहरू देख्ने बित्तिकै महानगर यातायातको ठानेर चढ्ने गर्छन्। तर, उही रङ्ग र नामका नक्कली बसहरूले उनीहरूलाई झुक्याउने गरेको छ। बसमा छुटेका महत्त्वपूर्ण कागजात, झोलालगायत सामान खोज्दै महानगर यातायातको सम्पर्कमा आउँदा मात्र यात्रुले यात्रा गरेको बस नक्कली भएको जानकारी पाउँछन् र सामान फेला नपर्ने अवस्था दिनदिनै बढ्दै गएको छ।
नक्कली महानगर यातायातले पैदल यात्रुलाई ठक्कर दिएर भागेपछि पीडितहरू प्रहरी र यातायात कार्यालयसम्म पुग्ने गरेका छन्। कतिपय अवस्थामा अनुसन्धानपछि यथार्थ पत्ता लागे पनि अधिकांश घटनामा दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन सकेका छैनन्। यसबाट महानगर यातायातले पनि अनावश्यक झन्झट व्यहोर्नुपरेको छ। यसले गर्दा कैयौँ पटक केही बसहरूको नियमित सेवा समेत रोकिने र कम्पनीलाई आर्थिक नोक्सानी हुने अवस्था सिर्जना भएको खतिवडाले दाबी गरे।
अध्यक्ष खतिवडाले राजधानीमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको महानगर यातायातले निकट भविष्यमै पब्लिक लिमिटेड कम्पनीको रूपमा आम जनतामाझ आफ्नो आईपीओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिए। उनले हालसम्म नक्कली महानगर यातायात तथा मिल्दोजुल्दो नाम र डिजाइनका सवारी साधन सञ्चालन गर्ने व्यवसायीहरूप्रति नरम रूपमा प्रस्तुत हुँदै आए पनि अब उप्रान्त कम्पनीको नाम र रङ्गको डिजाइन आफ्ना सवारी साधनबाट नहटाइएमा क्षतिपूर्तिको मागसहित जस्तोसुकै कानुनी कारबाही गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन्।