सहकारी ठगीमा कम्बोडियामा पक्राउ भण्डारीमाथि अनुसन्धान शुरू
कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता र सोही आधारमा दुई वटा राहदानी
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
1k
Shares
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरीले टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको थियो ।
सो सहकारीको एक सय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी रु १४ करोड भन्दा बढी रकम ठगी गरेको मुद्दामा फरार तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले उक्त रकम लिएर विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।
उनलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो । मितेरी सहकारीकी महाप्रबन्धक गुरुङले अपचलन गरेको करोडौँ रकम थाइल्याण्डमा बसोबास गर्ने भण्डारीले चलाएको र उनले सो रकम फिर्ता गराइदिने भनी सहकारीका पदाधिकारी र भण्डारीबीच सम्पर्क गराएको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको छ ।
उनले अन्य व्यक्तिहरुको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरुको विवरण राखी कीर्ते गरेको नागरिकता र राहदानीलाई ठगी गर्न प्रयोग गरेको प्रहरीले जनाएको छ ।