एसीसी पुरुष यु–१६ क्रिकेट प्रतियोगिता आजदेखि, नेपालले सिङ्गापुरसँग खेल्दै
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
530
Shares
तस्बिर फाइल
काठमाडौँ। एसियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक कार्यतालिका अनुसार एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता आज (आइतबार) देखि मलेसियामा शुरु हुँदैछ।
नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ। मलेसियाको युकेएम ओभलमा नेपाली समय अनुसार बिहान ७:४५ बजे खेल शुरु हुनेछ। नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले हालै शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो।
नेपाली टोली र प्रतियोगिताको संरचना
नेपाली टोलीको उपकप्तानमा सुर्यांशु कोइराला रहेका छन्। टोलीका अन्य खेलाडीहरूमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन्। नेपाली टोलीको प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द रहेका छन्।
प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ। समूह 'ए' मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान रहेका छन्। यस्तै, समूह 'बी' मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्।
नेपाल यस प्रतियोगिताको इतिहासमा हालसम्म सम्पन्न तीनवटै संस्करणको च्याम्पियन हो।
नेपालले दोस्रो खेल मङ्गलबार जापानसँग, तेस्रो खेल असार १५ गते इण्डोनेसियासँग र समूह चरणको अन्तिम खेल असार १७ गते भुटानसँग खेल्नेछ। दुवै समूहबाट विजेता र उपविजेता टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्।