गोरखामा सडक भासिँदा यातायात अवरुद्ध, यात्रुलाई सास्ती
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
611
Shares
गोरखा। सहिद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिएपछि ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। गए राति परेको वर्षाका कारण सडक दुईतर्फी नै भत्किएर सवारी आवागमन ठप्प भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।
वडाध्यक्ष श्रेष्ठका अनुसार, गत वर्षको वर्षाले सामान्य क्षति पुर्याएको उक्त सडकको समयमै मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो। "गएको बर्खादेखि नै सडक भासिएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो," उनले भने, "अहिले त चारपाङ्ग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन।"
सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यस सडकखण्ड हुँदै आवातजावत गर्ने यात्रुहरू समस्यामा परेका छन्। सडक भासिएकाले मोटरसाइकल र पैदलयात्रुहरू जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन्। सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि सडक पुनर्निर्माणको काम सुरु गरेको भए पनि वर्षाका कारण निर्माण कार्य प्रभावित भएको छ। यसले गर्दा स्थानीय बासिन्दा र यात्रुहरूले दैनिक जीवनमा थप कठिनाइ भोग्नुपरेको छ।