काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड र स्कटल्याण्डजस्ता बलिया टोलीविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित हासिल गर्नुले आगामी खेलहरूमा टोलीको मनोबल थप बढ्ने बताएका छन्। आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रोहितले नयाँ प्रशिक्षक स्टुआर्ट ल को आगमनसँगै छोटो समयमा धेरै सुधार आएको भन्न नसकिए पनि टोलीको समग्र वातावरण भने सकारात्मक बनेको उल्लेख गरे।
स्कटल्याण्ड भ्रमणमा नेपालले आइसिसी विश्वकप लिग–२ का चार खेलमध्ये तीन खेलमा जित दर्ता गरेको थियो, जसले अंकतालिकामा कमजोर अवस्थामा रहेको नेपालको प्रदर्शनमा सुधार देखाएको छ। यद्यपि, कप्तान रोहितले छोटो समयमा नै नयाँ प्रशिक्षकबाट धेरै पक्षमा सुधार आएकाले यो नतिजा सम्भव भएको भन्न नमिल्ने बताएका छन्।
तर, स्टुआर्ट लले टोलीको वातावरण र खेलाडीहरूको मानसिक तयारी (माइन्डसेट) मा सुधार ल्याएको रोहितको भनाइ छ। प्रशिक्षक ल सीधा र सरल तरिकाले प्रशिक्षण गर्ने, र बैठकभन्दा पनि मैदानमा कसरी जित निकाल्ने भन्नेतर्फ उनको ध्यान केन्द्रित हुने गरेको रोहितले बताए। यी सफलताको श्रेय भने उनले कोचिङ स्टाफलाई नै दिएका छन्। लिग–२ मा जस्तै तीन देश (स्कटल्यान्ड र नेदरल्यान्ड) सम्मिलित टी–ट्वान्टी शृंखलामा पनि नेपालले चार खेलमध्ये दुई खेल जितेको थियो। आइसिसी वरीयतामा आफूभन्दा बलियो टोलीलाई हराउँदै नेपालले सुधारिएको खेल प्रदर्शन गरेको हो।
कप्तान रोहितले यी बलिया टोलीविरुद्धको जितले लिग–२ को आगामी शृंखलाका लागि पनि नेपाली टोलीको आत्मबल बढाउने आशा व्यक्त गरेका छन्। टी–ट्वान्टी शृंखलामा नेपालले नेदरल्यान्ड्सँग तीनपल्ट सुपर ओभर खेलेको थियो। उनले तीनपल्ट सुपर ओभर होला भन्ने कल्पना नै नगरेको र त्यहाँसम्म पुग्न नन्दन यादवले महत्त्वपूर्ण भूमिका खेलेको बताए। यद्यपि, सुपर ओभरमा समय लिएर खेल्ने अवस्था नहुने र नतिजा पनि चाहेअनुरूप नआएको उनको भनाइ छ। तेस्रो सुपर ओभरमा भने सोचेअनुरूप हुन नसकेको उनले स्वीकारेका छन्।
आइसिसी टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीका लागि राम्रो ब्याकअप आवश्यक पर्ने भएकाले यसै टी–ट्वान्टी शृंखलामा सबै खेलाडीलाई अवसर दिइएको कप्तान रोहितले बताएका छन्। डन्डीको विकेट धेरै राम्रो रहेको र नेपाली टोलीको ब्याटिङमा पनि सुधारको विश्वास उनले व्यक्त गरे। पछिल्ला दुई-तीन वर्षयता टोलीमा रहेकाले हारपछि कसरी पुनरागमन गर्ने भन्ने बारे सिकेको पनि उनले उल्लेख गरे।
टोलीका सदस्य नन्दन यादवले यो भ्रमणअघिको अभ्यास खेलले पनि राम्रो नतिजा ल्याउन सहयोग गरेको बताएका छन्। यद्यपि, चारमध्ये एउटा खेलमा केही गल्ती गर्दा नतिजा आफ्नो पक्षमा नआएको उनको भनाइ छ। टी–ट्वान्टी शृंखलामा पनि नेपालले जित्नुपर्नेमा उनी विश्वस्त थिए, तर केही पक्षमा सुधार नहुँदा नतिजा आउन नसकेको उनले बताए। सुपर ओभर हुनुअघि आफूले चौकाको सट्टा छक्का हानेको भए नतिजा आफ्नो पक्षमा आउने भए पनि त्यो गर्न असमर्थ भएको उनले उल्लेख गरे।