तेहरान । इजरायल–इरान द्वन्द्व भएको १० दिन भइसकेको छ । इजरायली वायुसेनाले आइतबार राति अबेर इरानको शाहरुदमा रहेको ब्यालिस्टिक मिसाइल इन्जिन कारखानामा बम विस्फोट गराएको छ। यो ठाउँ इजरायलबाट करिब २००० किलोमिटर टाढा छ।
यस आक्रमणमा धेरै इन्जिन बनाउने मेसिन र आवश्यक उपकरणहरू नष्ट भएका छन् । यस बाहेक इजरायलले तेहरान, केरमानशाह र हमादानमा पनि हवाई हमला गरेको छ ।
अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भएको विद्रोहको मुद्दामा बोलेका छन् । उनले सामाजिक सञ्जालमा भने, ‘यदि वर्तमान इरानी सरकारले ुइरानलाई फेरि महान् बनाउन सक्दैन भने किन सत्ता परिवर्तन हुनु हुँदैन ? इरानलाई फेरि महान् बनाउनुहोस् ।’
अमेरिकाले हिजो इरानमा ३ वटा आणविक अड्डाहरूमा आक्रमण गरेर युद्धमा प्रवेश गरेको थियो। यी अड्डाहरू फोर्डो, नातान्ज र इस्फहान थिए। यस अपरेशनमा ७ वटा बी–२ स्टिल्थ बमवर्षकहरूले भाग लिएका थिए, जसले इरानको फोर्डो र नातान्ज आणविक स्थलहरूमा १३,६०८ किलोग्राम बंकर बस्टर बम खसालेका थिए ।