बागलुङ । बागलुङ नगरपालिकाले आज रु एक अर्ब ३० करोड ९५ लाखको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि नगर उपप्रमुख राजु खड्काले अनुमानित आय, आन्तरिक राजस्व तथा बैंक रकमलाई आधार मानेर बजेट प्रस्तुत गरेका हुन् । बजेट पर्यटन, शिक्षा र पूर्वाधारलगायतमा केन्द्रित भएको छ ।
सोमबार नगरप्रमुख वसन्तकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छलफलपछि बजेट प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममा भने केही वडासदस्यले विरोध जनाएका थिए ।
नगरसभामा उपप्रमुख खड्काले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्पm रु १५ करोड ३७ लाख, सशर्त अनुदानतर्फ रु ७२ करोड २४ लाख, समपूरक अनुदानतर्फ रु दुई करोड २४ लाख, विशेष अनुदान चालुतर्फ रु एक करोड ३० लाख, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानततर्फ रु दुई करोड १६ लाख ८२ हजार, शसर्त अनुदान पुँजीगततर्फ रु दुई लाख, समपूरक र विशेष अनुदान रु एक करोड विनियोजन गरेको जनाएका छन् ।
यस्तै सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँट रु १५ करोड १२ लाख ६० हजार, तथा आन्तरिक राजस्व र अनुमानित बैंक मौज्दातसहित रु २१ करोड २९ लाख १५ हजार गरी रु एक अर्ब ३० करोड ९५ लाख ५८ हजार आय अनुमान गरी बजेट प्रस्तुत गरिएको उपप्रमुख खड्काले जानकारी दिए ।
नगरपालिकाले आर्थिक विकासतर्फ रु दुई करोड ९७ लाख, पूर्वाधार विकासतर्फ रु ३९ करोड ५१ लाख ३९ हजार, सामािजक विकासतर्फ रु ६४ करोड ४१ लाख ३९ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु छ करोड ८१ लाख विनियोजन गरेको छ ।
यस्तै नगरपालिकाले बालमैत्री दिगोपनामा रु २० लाख, न्यायिक समितिलाई रु १५ लाख, आयुर्वेदलाई रु १० लाख, फोहोर व्यवस्थापनलाई रु १२ लाख, स्वास्थ्य क्षेत्रलाई रु १६ लाख, शिक्षालाई रु २८ करोड पाँच लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले कृषिलाई रु १५ लाख, पशु विकासलाई रु १० लाख, सामी परियोजनालाई रु तीन लाख र महलिा तथा बालबालिकालाई रु २० लाख विनियोजन गरेको छ ।
बालमैत्री कार्यक्रम नगरपालिकाको सफल कार्यक्रम रहेको बताउँदै दिगोपानाका लागि रु २० लाख बजेट विनियोजन गरेको उनले बताए । बालमैत्री घोषणापश्चात् सूचकहरु घट्दै गएकामा चिन्ता व्यक्त भइरहेको सन्दर्भमा नगरपालिकाले दिगोपनालाई चासो नदिएको बजेटबाट प्रष्ट भएको देखिएको छ । बालमैत्री घोषणा कार्यक्रमकै करिब रु सात लाख रकम भुक्तानी गर्न अझै बाँकी रहेको छ ।
नगरपालिकाले सङ्घीय सरकारबाट हस्तान्तरण भएर आएको कार्यक्रममा नेपाली कांग्रेस बागलुङको भवन निर्माणमा रु ७० लाख विनियोजन गरेको छ । संघीय सरकारले हस्तान्तरण गरेको कार्यक्रममा बागलुङ-३ मा बीपी स्मृति भवन निर्माणका लागि रु ७० लाख विनियोजन भएको छ । कांग्रेस पार्टी कार्यालयको भवनलाई बीपी स्मृति भवनको नाममा स्थानीय पालिकाले समेत यसअघि बजेट राखेका थिए ।
नगरपालिकाले पहिलो वर्ष नै रु २० लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाले प्राथमिकतामा राखिएको बालमैत्री, कुकुर होस्टेलजस्ता कार्यक्रमलाई उपेक्षा गरिएको छ । बालमैत्रीका आवश्यक सूचक घोषणामा पूरा भए पनि दिगोपनामा पछिल्लो चार महिनायता शून्य गतिविधिले सूचक घट्दै गएको छ ।