काठमाडौँको रोकियो बजेट, अन्य पाँच महानगरले गरे प्रस्तुत
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
672
Shares
तस्बिर फाइल
काठमाडौं । संवैधानिक प्रावधानअनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने भए पनि काठमाडौं महानगरपालिकाले तोकिएको समयमा बजेट प्रस्तुत गर्न सकेन। यता, अन्य पाँच महानगरपालिका – विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर, र पोखराले भने समयमै आफ्नो बजेट सार्वजनिक गरेका छन्।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले बजेट प्रस्तुतिका लागि असार १० गतेको समयसीमा तोकेको छ। मंगलबार अधिकांश स्थानीय तहले यस प्रावधानको पालना गर्दै बजेट पेस गरे भने केहीले निर्धारित मितिभन्दा अघि नै प्रस्तुत गरिसकेका थिए।
तर, सङ्घीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको बजेट भने आन्तरिक विवादका कारण रोकिएको छ। सङ्घीय सरकारका केही मन्त्रालयको भन्दा बढी बजेट चलाउने काठमाडौं महानगरको बजेटबारे आम चासो रहे पनि नगरसभा लामो समयदेखि बस्न सकेको छैन। बजेट प्रस्तुत हुन नसकेको सन्दर्भमा महानगरको तर्फबाट कुनै पनि आधिकारिक धारणा सार्वजनिक भएको छैन।
स्रोतका अनुसार, सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बालेन्द्र साहका बीचमा केही असमझदारी रहेको अनुमान गरिएको छ। महानगरको नीति तथा कार्यक्रम र बजेटबारे सम्बद्ध पदाधिकारीका बीचमा छलफल हुन नसकेको बताइएको छ। देशका अन्य केही स्थानीय तहमा पनि आन्तरिक वा प्राविधिक कारणले नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेको छैन।
काठमाडौं महानगरको बजेट कहिले प्रस्तुत होला र यसले आगामी आर्थिक वर्षका लागि कस्ता योजनाहरू समेट्ला भन्ने चासो अहिले सर्वत्र रहेको छ।