थाइल्याण्डमा रहेका नेपाली विज्ञहरूसँग स्वास्थ्य सुधारबारे मन्त्री पौडेलले लिए सुझाव
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
943
Shares
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक वर्ग र मेडिकल विद्यार्थीहरूसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिएका छन्। जनसङ्ख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैङ्कक पुगेका मन्त्री पौडेलले त्यहाँ रहेका नेपालीहरूसँग छलफल गरेका हुन्।
नेपाली राजदूतावास, बैङ्ककको आयोजनामा भएको कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्योपचार प्रणाली, स्वास्थ्य शिक्षा, र स्वास्थ्य बिमाबारे त्यहाँको अनुभवबारे नेपाली समुदायसँग सुझाव लिएको उनको निजी सचिवालयले जनाएको छ। दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरूबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने विश्वास मन्त्री पौडेलले व्यक्त गरे।
"हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौँ, तपाईँहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ," मन्त्री पौडेलले भने।
थाइल्याण्डका लागि नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा नेपालीहरू चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास, नीति निर्माणसँगै व्यवसायमा संलग्न रहेको उल्लेख गरे। उनले उनीहरूको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्गप्रशस्त गर्ने बताए।
अन्तर्क्रियामा सहभागी स्वास्थ्य सेवाप्रदायक एप निर्माणमा संलग्न नेपालीहरूले आफ्नो सेवा स्वदेशमा विस्तार गर्न तयार रहेको बताएका थिए। साथै, सहभागी स्वास्थ्य बिमाका जानकारहरूले थाइल्याण्डको अभ्यासबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए। मन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सहभागिता जनाउने कार्यक्रम छ।