सर्वोच्चमा प्रस्तावित न्यायाधीश पोखरेलको प्रतिबद्धता: 'न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ'
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
1.9k
Shares
काठमाडौं। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्। आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।
पोखरेलले कानून व्यवसायीहरू पक्षधर हुने तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताए। आफू न्यायाधीश बनेपछि निरपेक्ष रूपमा काम गर्ने जिकिर गर्दै उनले संविधान, कानून र न्यायको पक्षमा अब्बल साबित गर्ने प्रतिबद्धता जनाए।
उनले भने, "कानून व्यवसायीहरूले एउटा न एउटाको पक्षधरमै काम गर्नुपर्छ। तर न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन। न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन रोल थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानून र न्यायको पक्षमा अब्बल साबित गर्नेछु।"
न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताका लागि न्यायाधीशले कुनै पनि दबाब, प्रलोभन वा धम्कीभन्दा माथि उठेर निर्णय गर्नुपर्ने उनको भनाइ थियो। उनले कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा पनि न्यायपालिकाको महत्त्वपूर्ण भूमिका हुने बताए।
पोखरेलले सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने र संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध उत्पन्न हुने जिकिर गरे।