न्याय परिषद्मा प्रस्तावित नेपालको प्रतिबद्धता: 'गुण र दोषको आधारमा न्यायाधीश नियुक्ति सिफारिस गर्छु'
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
2k
Shares
काठमाडौँ। न्याय परिषद् सदस्य पदमा सिफारिस भएका महेशकुमार नेपालले आफू न्याय परिषद् सदस्य नियुक्त भएमा गुण र दोषका आधारमा मात्र न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपालले कुनै पनि पूर्वाग्रह नलिई गुण र दोषको आधारमा माननीय न्यायाधीशहरूको नियुक्ति र सरुवासम्बन्धी कारबाही गर्ने बताए। उनले संविधान र कानुनको निष्पक्षतापूर्वक पालना गर्ने र संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।
आस्थाको आधारमा कसैप्रति भेदभाव वा असमान व्यवहार नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले संविधानतः समानुपातिक तथा समावेशी प्रतिनिधित्वका लागि प्रयत्नशील रहने बताए। नेपालले निष्पक्ष र पारदर्शी न्यायालय स्थापनाका लागि निरन्तर प्रयत्नशील रहने र न्यायिक अनुशासन तथा न्यायालयप्रतिको जनआस्था अभिवृद्धिमा लाग्ने पनि स्पष्ट पारे।
उनले भने, "कुनै पूर्वाग्रह नलिई गुण र दोषको आधारमा माननीय न्यायाधीशहरूका नियुक्ति, सरुवासम्बन्धी कारबाही गर्ने व्यहोरासमेत जानकारी गराउँछु। संविधान र कानुनको निष्पक्षतापूर्वक पालना गर्नेछु। संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिबद्ध रहनेछु। स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढीकरणमा सतप्रयत्नशील रहनेछु। आफूले सम्पादन गरेको कार्यको उत्तरदायित्व र जवाफदेहिता सदैव ग्रहण गर्नेछु।"
प्रस्तावित सदस्य नेपालले न्यायपालिकाको गरिमा अभिवृद्धि गर्ने कार्य न्याय र कानुन क्षेत्रमा कार्यगत व्यक्तिहरू तथा न्यायाधीशसमेतको कर्तव्य र दायित्व भए पनि न्याय सम्पादनको मुख्य जिम्मेवारी प्रधानन्यायाधीशमा रहने हुँदा व्यक्तिगत रूपमा प्रधानन्यायाधीशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले न्यायपालिकाको छवि अभिवृद्धि गर्न आफू लागिपर्ने बताए।