नेपाल वायुसेवा निगम ६७ औँ वर्षमा, चुनौतीबीच अन्तर्राष्ट्रिय उडानमा सुधारको प्रयास
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
732
Shares
काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजबाट आफ्नो ६७ वर्षे यात्रा सुरु गरेको छ। सन् १९५८ जुलाई १ मा २८ सिट क्षमताको डोग्लस डिसी ३ डाकोटा विमानबाट सेवा प्रारम्भ गरेको निगमले अहिले वाइडबडी ए३३०–२०० सिरिजका विमानसमेत सञ्चालन गरिरहेको छ।
निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतका नयाँदिल्ली, बेङ्लोर र मुम्बईसहित हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ। निगमसँग दुई थान वाइडबडी ए३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमान छन् जसबाट अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन्।
तर, आन्तरिकतर्फ भने निगमको उपस्थिति खस्कँदो छ। दुर्गम भेगका विमानस्थलमा सेवा दिइरहे पनि, दुई थान ट्वीनअटर विमानको अभावका कारण सबै गन्तव्यमा सेवा विस्तार गर्न नसकिएको निगमले जनाएको छ।
स्थापनाको ६७ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सामा उल्लेख्य सुधार गर्न सकेको छैन। निगमको ऋण दायित्व करिब ५० अर्ब रुपैयाँ पुगेको बताइएको छ। वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिइएको थियो।
भएका विमानहरू पनि राम्ररी सञ्चालन हुन नसक्नु र बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धा लगायतका कारणले निगमको साखमा कमी आएको थियो। यद्यपि, हाल उत्कृष्ट ग्राउण्ड ह्यान्डलिङ सेवा र अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्द्धनले निगमको साख केही उकासिएको दाबी गरिएको छ।
निगमका प्रवक्ता सुवास डाँगीका अनुसार, अन्तर्राष्ट्रिय गन्तव्यमा रहेका चारवटै विमान पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। अन्तर्राष्ट्रियतर्फ थप नयाँ गन्तव्यमा उडान सेवा विस्तारका लागि पनि पहल भइरहेको उनले जानकारी दिए।
निगमको विद्यमान अवस्था सुधारका लागि पटकपटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन सकेको छैन। तालुकदार मन्त्रालयले विभिन्न योजना सार्वजनिक गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको बताइएको छ।
६७ औँ वार्षिकोत्सवको अवसरमा निगमले विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। यसअन्तर्गत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा सातदोबाटोस्थित एन्फा खेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा निगमका पुरुष कर्मचारी, महिला कर्मचारी र कार्यकारी समूहहरूबीच छुट्टाछुट्टै खेलहरू सञ्चालन भएका थिए। वार्षिकोत्सवकै अवसरमा खुला कविता वाचन प्रतियोगिता तथा टेबल टेनिस प्रतियोगिता पनि सम्पन्न भएका छन्।
यसैबीच, वार्षिकोत्सवको अवसरमा आज बिहान केन्द्रीय कार्यालय परिसरमा प्रभातफेरी पनि आयोजना गरिएको छ।