arrow

सपनतीर्थ : ऐतिहासिक या किंवदन्ती !

logo
शीतल गिरी,
प्रकाशित २०८२ असार २१ शनिबार
sheetal-giri-82-3-21.jpg

काठमाडौँको उत्तर–पश्चिमतर्फ अवस्थित टोखामा हरेक वर्ष वैशाख १ गते सपनतीर्थ मेला लाग्छ । यस मेलाको बारेमा केहीदिन पहिले पढेको कुरा अहिले मेरो मन मस्तिष्कमा बसेको छ । किंवदन्ती साायद लिच्छवीकालको थियो । लेखिएको थियो यस पोखरीमा स्नान गर्दा अपाङ्गता भएका व्यक्ति पनि सपाङ्ग बन्छन् । कारण त्यसमा भनिएको थियो— यो भगवानको पोखरी हो र उहाँकै चमत्कारले यहाँ लीला हुने गरेको छ । 

लोकको विश्वास रहेको स्नानको बारेमा यस्ता किंवदन्ती फैलिनेगरेको छ । तब पनि सपनतीर्थको इतिहास त अवश्य छ । इतिहास सानै किन नहोस्, लोकको विश्वासले कुरा थपिदैगर्दा किंवदन्ती बन्न पुगेको छ । यो सपनतीर्थ शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा अवस्थित छ । सपनतीर्थ जात्राको शुरूआत कहिले र कसरी भयो यो खोजकै विषय हो ।     

लोककथन अनुसार चैत्र मसान्तको दिन वागद्वार पुगेर वैशाख १ गते सपनतीर्थमा स्नान गरी टोखाको बिस्केट जात्रा अवलोकन गर्दै भक्तपुरको बिस्केट जात्रामा सहभागी हुने प्रचलन छ । यसो त सडक यातायात पुगेका ठाउँको जात्रा पर्वको महत्व हिजोआज बढेको पाइन्छ । के थियो पहिले ? बाटो घाटोको असुविधा थियो तर लोकमा रहेको विश्वासले गर्दा पुराणले वर्णन गरेका ठाउँको कथा किंवदन्तीको रूपमा नै सही बाँचेको हुन्थ्यो । 

त्यसमा यथार्थता खोज्न सकिँदैन, खोजेर पनि पाइने होइन । तथ्यको साथमा कल्पना यसरी मिसिएको छ कि ती सबै कुरो एक भाव–पिण्डमा परिणत भइसकेको छ । यसकारण सपनतिर्थकै कुरा गर्ने हो भने तथ्यपरक कुनै सत्य पाइँदैन । भावनाको कुहिरोमा रमाउने यो उपत्यका खाल्डो थियो । यसकारण यसको प्रागइतिहास भगवान् भरोसा बन्दै गयो । तथ्यमा आधारित सत्यले उपत्यका भित्रका धेरै कुरो खोज्न सकिन्न, लोकको विश्वास पर्खाल बनेर उभीन्छ र खोज्न चाहने फरक्क फर्किन बाध्य बन्छ ।     

ऐतिहासिक तथ्य सत्य पत्ता लगाएर महत्व बढाउन आवश्यक पर्छ इमानदारीको । इमानदारीसाथ खोजी गरियो भने ज्ञानको समर्थन इतिहासमा पाइन्छ । तर्क इतिहासमा खोजिनु पर्छ र प्रत्येक नवीनताको लागि पुष्टि इतिहासबाट निस्केर नै दिनेगरिन्छ । जसरी इतिहासमा सबैको कारण छ र कार्यको निश्चय त्यहीँबाट हुन्छ । 

सपनतीर्थ मेला भर्ने र दर्शनक्रममा शिवपुरी डाँडा, विष्णुनाभ गुफायुक्त डाँडा, वागद्वार, विष्णुपादुकादि दर्शन गरिसकेपछि सपनतीर्थमा गई मेला भर्ने गरिन्छ । त्यहाँस्थित सपनतीर्थमा रहेको सिद्धिपोखरीमा स्नान गर्दा शरीरमा भएको अनेक कुष्ठरोगलगायत अन्य छालाका रोगसमेत निको हुने र सन्तान प्राप्त हुने जनविश्वासले त्यहाँ मेला भर्न आउने भक्तजनहरूको भीड लाग्ने गर्दछ ।     

सपनतीर्थको सिद्धिपोखरीमा स्नान गर्ने विषयमा एउटा किंवदन्ती प्रचलित रहेको छ— सत्ययुगमा एक राजपरिवारमा राजा सत्ववन्तका सातवटी छोरीहरू थिए रे । छ जना छोरीहरूको बिहे सम्भ्रान्त राजपरिवारका राजकुमारहरूसँग गरिदिए । तर एकजना कान्छी छोरी सत्यकेशरीलाई एक दिन राजाले ‘तिमी कोसँग बिहे गछौं ? भनी सोध्दा बोल्दै बोलिन्छन् ।

किंवदन्तिमा लोक के चाहन्छ, लोकको इच्छा अनुरूप के हुनुपर्ने हो त्यस अनुसार परिवर्तित हुदै जान्छ । किंवदन्तीको कालक्रम हुदैन । समय, स्थान तथ्य भएको घटनाहरू इतिहाससँग सम्बद्ध हुने हुँदा त्यसको अर्थ खोज्ने प्रयत्न गरिन्छ । यसबाट ऐहिक दर्शन र कार्यक्रम बनाइन्छ ।         

यथार्थमा पौरस्त्य चिन्तनले इतिहासपरक दृष्टिलाई महत्त्व दिएन । दृष्टि ऐहिक दर्शनको ठाउँमा नैतिक रह्यो । कान्छी छोरी सत्यकेशरीलाई धेरैपल्ट सोध्दा पनि नबोलेपछि राजा सत्यवन्तलाई रिस उठेछ र भनिदिएछन्, ‘पाटीमा बस्ने कुष्ठरोगीसँग बिहे गर्दिन्छु हुन्न’ भनेर प्याच्च भनेछन् । छोरीको मनमा बुवाको वचन बसिरह्यो र बुवाको वचन झुठो नतुल्याउन कुष्ठरोगीसँग बिहे गरिन् । राजाले आफ्ना अन्य छवटी छोरीलाई थुप्रै दाइजोलगायत अनगिन्ती सामग्री उपहार दिएका थिए । 

तर सत्यकेशरीको हकमा राजाले केही पनि दिएनन् । तैपनि आमाबुवाप्रति स्वच्छ हृदय र दृढविश्वास साथै अपार निष्ठा थियो उनको । आफ्नो कर्मलाई शिरोधार्य गरी रोगी पतिको घरमा गई सेवा सुश्रुषा गर्न थालिन् । गरिबीका कारण भिख मागिखानुपर्ने अवस्था थियो । रोगी पति र घरको अवस्था भिखमाग्नु पर्ने राजदरबारमा सुखसयलमा हुर्किएकी उनको अन्तःकरणको चित्रण गर्न सहज छैन ।

हिन्दू धर्मको चेतना नैतिक मूल्यले प्रभावित र गठित हुँदै चल्दैआएको छ । यस्तो पनि होइन राजकुमारी सत्यकेशरीको लौकिह जीवनमा विग्रहका भावनाहरू आएनन् भन्न सकिन्न । जसको पनि मनमा सकारात्मक र नकारात्मक कुरा उँठ्छ, तर यस्ता विग्रहका कुरा धर्मपालन गर्नेहरूका अन्तश्चेतनामा धेरैबेर अड्न सक्तैन । सत्यकेशरीमा निष्ठा अक्षुण्ण थियो । र द्वेष भाग्यमा विश्वास गर्नेहरूका समिपमा ढिम्किदैन, तर कर्म त प्रधानता हो, बाँच्नको लागि परीस्थितिसँग समन्वय त गर्नै पर्छ । 
        
कर्म गर्न पछि नहट्नेको जीवनमा अवश्य चमत्कारी परिणाम देखापर्दछ । सनातनदेखि धर्मप्रतिको विश्वास अखण्ड र अविच्छिन्न रहेको छ । राजकुमारी सत्यकेशरी भिख माग्दै जानेक्रममा सधैं मन्दिर परिसरसँगै रहेको सिद्धिपोखरी नजिकैको पाटीमा आफ्नो अपाङ्गता भएको रोगी पतिलाई त्यही छाडेर आफू सहरमा भिख माग्न जान्थिन् ।

एक दिनको कुरा हो रोगी पति भुसुक्कै निदाएछन्, सपनामा उनले गाइबस्तु चराउन आएका गोठालाहरूले रमाइलोका लागि गाइनेकीरा समात्दै पखेटा छुट्याउँदै पोखरीमा फाल्दा, एकैछिनमा ती कीरा जस्ताको तस्तै सबल बनी उडेर गएको देखेछन् । अनि कुष्ठ रोगी पनि सो पोखरीको पानीमा डुबेर निको भएको चमत्कारले झल्यास्स सपनाबाट ब्युँझिएछन् ।     

यस्तो सपनाले कुष्ठरोगीलाई पनि उक्त पोखरीमा डुब्ने इच्छा, चाहना भएर त्यही नजिक बसिरहेका गोठालाहरूलाई बोलाएर— ‘मलाई त्यस पोखरीमा लगि डुबाइदिनोस्’ भनेर अनुनय विनय गरेछन् । ‘शारीरिक अपाङ्गता भएको व्यक्ति डुबेर मर्यो भने वा केही भयो भने दोष लाग्छ’ सोचेर कुनै गोठालोले पनि आँट गरेनन् । हेर्दैमा घिनलाग्दो मान्छेलाई नुहाइदिन गोठालाहरू नमान्नु स्वभाविकै थियो ।       

अनि सकिनसकी आफू बसेको पाटीबाट घस्रिँदै–घस्रिँदै त्यस पोखरी नजिक पुगे । आफूले लगाएको वस्त्र फुकाली पोखरीमा हामफाले ।         केहीबेरपछि आफ्नो अपाङ्गता भएको शरीर साङ्गका रूपमा परिणत भयो र आश्चर्य मानी खुशीले रमाउँदै बस्त्र लगाई पहिलेकै पाटीमा बसे । यो दृश्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरूले हल्लीखल्ली मच्चाए ।
     
गोठालाहरूको हल्लीखल्ली सुनेर त्यहाँ मानिस जम्मा भए र यथार्थ थाहा पाउँदा हेर्न आउनेको ताँती लाग्यो । त्यही समयमा माग्न गएकी सत्यकेशरी पनि आइपुगिन् । मान्छेका भीडबीचमा यताउती आफ्नो कुष्ठरोगी पतिलाई खोजिन् तर कतै भेट्टाउन सकिनन् । पाटीमा निरोगी मान्छे बसेको देखेर सोधिन्— “यहाँ एकजना अपाङ्गता भएको मान्छे देख्नुभयो ? उहाँ मेरो पति हुनुहुन्छ ।” उक्त व्यक्तिले “म नै हुँ कुष्ठरोग लागेको तिम्रै पति” भने । त्यहाँ उनले अपाङ्गता भएको व्यक्ति छाडेर गएको हुँदा विश्वास कसरी गरून् । त्यस पोखरीमा स्नान गर्ने बित्तिकै चमत्कार हुन्छ भन्ने कुरा पनि त जानकारीमा थिएन । जानकारी भएको हुँदो हो त विवाहअघि नै नुहाउन लगाएर स्फूर्ति प्राप्त गराउने थिइन् । 

चमत्कार भगवानले गर्न सक्छन् यो विश्वास उनमा थियो । भाग्य पनि कर्मबाट प्राप्त हुन्छ यो पनि थाहा थियो । त्यस दृष्टिले हेर्दा उनको पतिबाट त्यस्तो कर्म गरेजस्तो पनि लागेको थिएन । सम्मुखमा ‘पति हुँ’ भन्ने मूर्त व्यक्तिलाई मनले स्वीकार गर्न सकेको थिएन । यहाँ कुनै नियोजित षड्यन्त्र त भएको छैन यसतर्फ पनि विचार गरिन् ।     
    
आज दुनियाँमा जुन कारोबार चलिरहेको पाइन्छ त्यसमा ऐतिहासिक र किंवदन्ती मिसिएको हुन्छ । कतिपयले यसैलाई बौद्धिक र वैज्ञानिक भन्न पनि पछि परेका छैनन् । त्यहाँको कुरा सुनेर राजकुमारी सत्यकेशरीले पत्याउने कुरै भएन र ‘मलाई छलछाम गर्न लागेको र मेरो इज्जत र अस्मिता लुट्न लाग्यो’ भनेर कराउन थालिन् । 

त्यसपछि देख्ने गोठालाहरूले एक–एक गरेर सबै कुरा सबिस्तार सुनाएपछि बल्ल विश्वास गरिन् । एक आपसमा भेला भएका मानिससँग खुशी साटासाट गरिन् । सपना देखेर घटना भएको ठाउँ भएको हुनाले सपनतीर्थ नाम रहन गएको जनश्रुति पाइन्छ भने सोही दिनको संस्मरणमा वैशाख १ गते सपनतीर्थ नुहाउने मेला लाग्न थालेको बताइन्छ ।     

आफ्नो पति रोगमुक्त भएको कारणले राजकुमारी सत्यकेशरीले सपनतीर्थमा सपन विनायक गणेशको मूर्ति स्थापना गरेको भनाइ रहेको छ । यो चामत्कारिक घटना राजासमक्ष पनि पुग्यो अनि दरबारिया भारदारहरूलाई सत्य–तथ्य जाँच गर्न अह्राए । अपाङ्गता भएका व्यक्तिहरूलाई उक्त पोखरीमा स्नान गर्न उर्दी जारी गरे । 

राजाको उर्दी र त्यस पोखरीको महिमाले गर्दा देशभरिबाट अपाङ्गता भएका व्यक्तिहरूको घुइँचो लाग्न थाल्यो, पंक्तिबद्ध जतिले मेष सङ्क्रान्तिका दिनमा सो पोखरीमा स्नान गर्न भ्याए, ती सबै निको भए भन्ने विश्वास छ । यो पनि थाहा भएको छ, मेष सङ्क्रान्तिका दिन बाहेक अन्य दिन भने चमत्कार हुँदैन । अरू दिन स्नान गर्नेले सत्य नभएको पनि भने । किनभने उनीहरूमा कुनै परिवर्तन आएको थिएन, सबै निरोगी र स्वच्छ हुन चाहन्थे ।     
हो टोखाको सिद्धिपोखरी ऐतिहासिक हो र किंवदन्तीले प्रशस्त चलखेल गर्ने मौका पाएको छ । मेरो नम्र र दृढ मान्यतामा नेपालमा लोकविश्वासको दृष्टिले व्यापक सामाजिक प्रयोग भएको छ, त्यसमध्येको यो पनि एक हुनुपर्छ संभवत । किंवदन्ती जे जस्तो भए पनि नेपालको नेवारी संस्कृतिको प्राचीन नगरी टोखालाई स्थानीय वासिन्दा जात्राको नगर भन्छन् । 

उनीहरूका अनुसार विश्वको पहिलो उत्कृष्ट चाकुको उत्पादन सुरु गर्ने टोखा लिच्छविकालीन संस्कार र संस्कृतिको जीवन्त प्रयोग गर्ने स्थान पनि हो । मेष सङ्क्रान्ति अर्थात् वैशाख १ गते आस्था र विश्वासको एक महत्वपूर्ण पर्वका रूपमा चलिआएको यस सपनतीर्थको मेलालाई विशेष पर्वका रूमा मनाउँदै आइरहेका छन् ।     
                                          
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ