काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार, शेयर निष्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउनुपर्ने माग गरेका छन्।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भइरहेका बेला उनले यस्तो माग राखेका हुन्।
सांसद सुवालले विधेयकले वायुसेवालाई निजीकरणका लागि बाटो खुला गरेको बताए। उनले सबै कुरा निजीकरण गर्दै जाने हो भने भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउने टिप्पणी गरे।
"वायुसेवालाई व्यवस्थापन करार वा शेयर निष्कासन वा बिक्री गरिने छैन भनेर यो प्रस्तावनामा ल्याउनुपर्छ," उनले भने, "त्यो ल्याएन भने निजीकरणको लागि बाटो खुला गरिएको छ, विभिन्न दफामा। अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ।"
सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने जस्तै गरी विधेयक ल्याइएको भन्दै यो ठीक नभएको सुवालले बताए। उनले यसमा सचेत रहन आग्रहसमेत गरे।