भोजपुर हत्याकाण्ड: चार शव ’फरेन्सिक’ परीक्षणका लागि पठाइयो धरान
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
502
Shares
भोजपुर। भोजपुरको रामप्रसादराई–२ धोद्लेखानीमा भएको सामूहिक हत्याकाण्डमा मारिएका चार जनाको शव आज ’फरेन्सिक’ परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
आइतबार घटनास्थलबाट जिल्ला अस्पताल ल्याइएका शवहरूको फरेन्सिक जाँच गर्ने उपकरण जिल्लामा नभएपछि धरान पठाउने निर्णय गरिएको हो। भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए।
हत्याका अभियुक्त राजेन्द्र राई पनि घाइते भएकाले उनको पनि धरानमै उपचार भइरहेको छ।
मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन र अन्य खर्चका लागि रामप्रसादराई गाउँपालिकाको सचिवालयले सहयोग सङ्कलन गरेको थियो। गाउँपालिका अध्यक्ष थामबहादुर राईले सङ्कलित एक लाख १४ हजार आठ सय ७१ रुपैयाँ रकम मृतकका आफन्तलाई हस्तान्तरण गरे।
अध्यक्ष राईले मृतक परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट पनि थप सहयोग गर्ने बताए। "मृतक परिवारको आर्थिक अवस्था कमजोर छ," अध्यक्ष राईले भने, "सचिवालयबाट सङ्कलन भएको एक लाख १४ हजार रकम हस्तान्तरण गरेका छौँ। गाउँपालिकाको तर्फबाट पनि सहयोग गछौँ।"
यो घटना शनिबार राति भएको थियो, जहाँ आफ्नै ज्वाइँले एकै परिवारका चार जनाको सामूहिक हत्या गरेका थिए।