आयोडिनयुक्त नुनसम्बन्धी कानून परिमार्जन गर्न संसदीय समितिको निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
564
Shares
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानून परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो निर्देशन जारी गरेको हो।
समिति सभापति अब्दुल खानले ’आयोडिनयुक्त नुन, उत्पादन तथा वितरण ऐन, २०५५’ समयसापेक्ष नरहेको, अस्पष्ट व्यवस्था भएको र वर्तमान परिप्रेक्ष्यमा कार्यान्वयन गर्दा व्यावहारिक नदेखिएको बताए। उनले मुलुकमा आयोडिनयुक्त नुनको आपूर्तिमा समस्या नभए पनि निजी क्षेत्रलाई आपूर्ति गर्न दिने सन्दर्भमा आपूर्ति श्रृंखला, मूल्य, गुणस्तर र दुर्गम क्षेत्रमा पर्ने प्रभावबारे विस्तृत अध्ययन आवश्यक रहेको पनि औँल्याए।
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ऐनलाई यथाशीघ्र संशोधन गरी स्पष्ट व्यवस्था गर्न निर्देशन दिएको छ। साथै, संशोधन नभएसम्म नुनको आपूर्ति, ढुवानी तथा वितरण साविकअनुसार नै गर्न समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको छ।