मानव धर्मका आश्रमहरूमा गुरु पूर्णिमाको उल्लास, आत्मज्ञान र सामाजिक कार्यमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
691
Shares
काठमाडौं। नेपाल मानव धर्म सेवा समितिले देशैभरिका आफ्ना क्षेत्र आश्रम तथा शाखा आश्रमहरूमा भक्तहरूको महान चाड गुरु पूर्णिमा हर्षोल्लासका साथ भव्य रूपमा सम्पन्न गरेको छ।
गुरु पूर्णिमाको अवसरमा आयोजित ’महान सत्संग’ कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले गुरुको आशीर्वाद थापेर आफ्नो भक्ति सफल बनाउनुपर्ने बताइन्। उनले गुरुप्रति समर्पण भाव भएमा मात्र जीवन सफल हुने भएकाले हरेक शिष्य गुरुप्रति समर्पित हुनुपर्नेमा जोड दिइन्। महात्मा चमेली वाईजीका अनुसार ज्ञान अनुभवको विषय भएकाले परिवारमा भगवान् तथा गुरुको चर्चा गर्दै ध्यान साधना गरी आफूभित्रको शक्तिको अनुभव गर्नुपर्ने र ध्यान साधनाले नै सत्य युगको प्रादुर्भाव हुनेछ। भौतिक कुरामा जति नै प्रगति गरे पनि मनको शान्तिका लागि गुरुको शरणमा नै जानुपर्ने र गुरुले मात्रै पञ्च भौतिक बन्धनबाट मुक्ति गराउनुहुनेमा पनि उनले जोड दिइन्।
महात्मा चमेली वाईजीले भनिन्, “भगवान्को कृपा असीम रूपमा वर्षिरहेको छ। तर अथाह कृपालाई भक्तले चिन्न सकिरहेको छैन। गुरु तथा सन्त महात्माले सत्संगको माध्यमबाट सबैलाई भगवान्को कृपा वर्षा गराइरहनुभएको छ।”
सत्संग कार्यक्रममा समितिकी वरिष्ठ महात्मा लता वाईजीले कुनै पनि औषधीले निको पार्न नसकेको जन्म-जन्मको रोग गुरु कृपाले निको पार्ने बताइन्। समयको सद्गुरुको सानिध्यताले हृदय निर्मल हुँदै जाने पनि उनले स्पष्ट पारिन्। महात्मा लता वाईजीले भनिन्, “समयका महान पुरुष यस धर्तिमा आएर आत्माज्ञानको प्रचार गरिरहनु भएका बेला सुतेर बसेमा भोलिका दिनमा पछुताउनुबाहेक केही बाँकी रहँदैन।”
देशभर आयोजना भएका महान सत्संग कार्यक्रममा आत्मानुभवी सन्त महात्माहरूले सत्संग तथा प्रवचन सुनाउनुका साथै विविध सांस्कृतिक कार्यक्रमहरू जस्तै नृत्य, नाटक, भजनहरू पनि प्रस्तुत भएका थिए।
समितिले गुरुपूजाको अवसर पारेर एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर, सरसफाइ लगायतका विभिन्न सामाजिक क्रियाकलापहरू पनि सम्पन्न गरेको छ।