आइफिल टावरबाट ’प्यारासुटिङ’ गरेको आरोपमा दुई जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
1.5k
Shares
तस्बिर फाइल
काठमाडौं। फ्रान्सको आइफिल टावरबाट बिहीबार ’प्यारासुटिङ’ गरेको आरोपमा फ्रान्सको कानुन प्रवर्तन निकायले दुई जनालाई पक्राउ गरेको छ।
सुरक्षाकर्मीहरूले ३३० मिटर अग्लो पेरिस स्मारकमा चढ्ने क्रममा नकाब लगाएका र प्यारासुट बोकेका ती जोडीलाई देखेका थिए। त्यसपछि उनीहरूले प्रहरी र नागरिक सुरक्षा टालीलाई टावर परिसरमा बोलाएका थिए। स्थानीय समयअनुसार बिहान ६ बजेतिर उनीहरू टावरबाट हाम फालेका थिए र अवतरणपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
स्मारक नजिकै रहेका तर आरोहणमा संलग्न नभएका तेस्रो व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
सन् १८८९ मा पेरिसको युनिभर्सल एक्जिबिसनका लागि निर्माण सम्पन्न भएको आइफिल टावर पेरिस सहरको स्वामित्वमा छ। यो विश्वको सबैभन्दा बढी अवलोकन गरिएका स्मारकहरूमध्ये एक हो। आइफिल टावरको वेबसाइटका अनुसार, यसले प्रत्येक वर्ष लगभग ७० लाख मानिसहरूलाई आकर्षित गर्छ, जसमध्ये करिब तीन–चौथाइ विदेशी पर्यटक हुने गर्छन्।