काठमाडौँ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन खोप खरिदमा अनियमितता गरेको आरोप खेपिरहेका बेला युरोपेली संसदमा अविश्वासको मतबाट बच्न सफल भएकी छन्।
खोप खरिदमा अपारदर्शिता भएको भन्दै उनको नेतृत्वमाथि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। स्ट्रासबर्गमा दिउँसो भएको मतदानमा प्रस्तावको विपक्षमा ३६० मत, पक्षमा १७५ मत र १८ जना अनुपस्थित रहेका थिए। प्रस्ताव पारित हुन आवश्यक दुई तिहाइ बहुमत प्राप्त नभएपछि भोन डेर लेयन जोगिएकी हुन्।
यो अविश्वासको प्रस्ताव रोमानियाली अति–दक्षिणपन्थी सांसद घेओर्गे पिपेरियाले सुरु गरेका थिए।