राप्रपाको विवाद निर्वाचन आयोगमा: वरिष्ठ नेता सुवेदीले दिए अध्यक्ष लिङ्देनविरुद्ध उजुरी
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
598
Shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद अब निर्वाचन आयोगसम्म पुगेको छ। पार्टीको अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै उनलाई अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनित गरेका थिए। अध्यक्ष लिङदेनको सोही निर्णयका विरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा तथा कुन्ती शाहीसहित सुवेदी आइतबार निर्वाचन आयोग पुगेका हुन्।
आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाइएको बताए। उनले अध्यक्ष लिङदेनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको आरोप लगाए।
सुवेदीले भने, “अध्यक्षको स्वेच्छाचारिताले मलाई अनुशासन समितिबाट हटाइएको हो। केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय भएको छैन। त्यसकारण यो प्राकृतिक न्यायको खिलाफमा उहाँहरूले निर्णय गर्नुभयो। निर्णय गर्नुभन्दा अगाडि मलाई सोध्नुपनि पर्थ्यो। मलाई सोधिएको पनि छैन। मैले त मिडियाबाट थाहा पाएँ। त्यसकारण म निर्वाचन [आयोगमा उजुरी] गर्न आएको हो। पार्टीभित्र अन्याय भइरहेकोले त्यसको खिलाफमा मैले आवाज उठाएको हो। निष्पक्ष न्याय पाएपछि म के गर्छु थाहा हुन्छ। पार्टीभित्र यस्तो षड्यन्त्र नहोस् भनेर म उजुरी गर्न आएको।”
उनले राजसंस्था पुनःस्थापनाको आफूहरूको आन्दोलन जारी रहेको दाबी गर्दै पार्टीभित्र कुनै गुट नहोस् भन्ने पक्षमा आफू रहेको पनि बताए।