arrow

दक्षिण कोरियाले ग्रामीण विकास परियोजनाका लागि ८० लाख डलर दिने [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
nepal-korea-82-4-2.jpg

काठमाडौँ । नेपाल सरकार र दक्षिण कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेसी ग्रामीण विकास परियोजना (आईआरडीपी) कार्यान्वयनका लागि सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । 

अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमबीच मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाली राजदूत पार्क तई यङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

यो परियोजनाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) मार्फत कोरियाली सरकारले ८० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको हो । 

परियोजना सन् २०२९ को डिसेम्बरसम्म सञ्चालन हुनेछ र बर्दिया जिल्लाका आठ स्थानीय तहमा कार्यान्वयन हुनेछ । गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका र ठाकुरबाबा नगरपालिकामा कार्यान्वयन हुने यो परियोजनाको उद्देश्य कृषि उत्पादनमा वृद्धि, मूल्य शृङ्खला निर्माण, सडक तथा पूर्वाधार स्तरोन्नति, बजार पहुँच स्थापना, उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत ग्रामीण समुदायलाई सहयोग गर्नु रहेको छ । 

परियोजना कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नीतिगत समन्वय तथा मार्गनिर्देशनको भूमिका निर्वाह गर्ने छ भने स्थानीय तह स्तरमा बर्दियाका ती आठ पालिकाले कार्यान्वयन निकायका रूपमा काम गर्नेछन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कोरियाली राजदूत पार्क तई यङले यो परियोजना जनमुखी, समावेशी र दिगो विकासमा केन्द्रित रहेको बताए । उनले परियोजनाले वातावरणीय सन्तुलन कायम गर्दै स्थानीय समुदायका लागि दीर्घकालीन अवसर सिर्जना गर्ने उल्लेख गरे ।

“कोरियाली सरकारले यो परियोजनामार्फत नेपालको समावेशी र दिगो विकासप्रति प्रतिबद्धता व्यक्त गरेको छ । यो परियोजनाले ती स्थानीय तहलाई दीर्घकालीन आर्थिक अवसर सिर्जना र वातावरणीय प्रभाव न्यूनीकरणका लागि भूमिका खेल्नेछ”, उनले भने । 

कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले कोरियाली सहयोगमा सञ्चालन हुने परियोजनाले स्थानीय सरकार तथा समुदायको सशक्तिकरण गर्न र नेपाल सरकारको नीतिअनुसार समावेशी तथा आर्थिक रुपमा बलियो समाज निर्माण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । 

“स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने, उनीहरुको कार्यक्षमता विस्तार गर्ने र स्थानीय उत्पादन बढाई बजारसँग जोड्नका लागि यसले भूमिका खेल्नेछ । त्यस्तै, विकेन्द्रित शासन प्रणालीबाट कसरी लाभ लिन सकिन्छ भन्ने नमूना परियोजनाका रुपमा यसलाई कार्यान्वयन गर्न सकिनेमा आशावादी भएको उनले बताए । 

त्यस्तै, कोईकाको नेपालका लागि निर्देशक मुहुन्ग कोङले स्थानीय तह तथा अन्य सरोकारवालाको सहकार्यमा परियोजनाबाट सकारात्मक तथा परिणाममुखी उपलब्धि हासिल हुनेमा आशावादी रहेको बताए । 

कोईकाले विगतमा पनि नेपालमा कृषि, स्वास्थ्य, प्राविधिक तालिम, ग्रामीण पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको छ ।

korea-help-bardia-82-4-2 (10).jpg
korea-help-bardia-82-4-2 (9).jpg
korea-help-bardia-82-4-2 (8).jpg
korea-help-bardia-82-4-2 (7).jpg
korea-help-bardia-82-4-2 (6).jpg
korea-help-bardia-82-4-2 (5).jpg
korea-help-bardia-82-4-2 (4).jpg
korea-help-bardia-82-4-2 (3).jpg
korea-help-bardia-82-4-2 (2).jpg
korea-help-bardia-82-4-2 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ