arrow

मानवसेवा आश्रमलाई सरकारले सहयोग गर्नुपर्छ : अर्जुननरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३ शनिबार
mission-2028.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सडक बालबालिका तथा सडक मानवमुक्त राष्ट्र निर्माणका लागि मानवसेवा आश्रम जस्ता संस्थालाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले तेस्रो स्थापना दिवसको अवसरमा काठमाडौँको रानीवनस्थित मानसेवा आश्रममा आश्रितलाई भोजन वितरण कार्यक्रममा उनले मानवसेवा आश्रमलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । 

पूर्वमन्त्रीसमेत रहेका केसीले सरकार आफैँ यस्ता काममा लाग्नेभन्दा पनि यस्ता संस्थालाई नेतृत्व गर्नसक्ने गरी आर्थिक, भौतिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए । सरकारले यस्ता संस्थाको नियमन गरी सहज सञ्चालनको व्यवस्था गरेमा सकारात्मक प्रतिफल आउने उनको भनाइ छ ।

“सडक बालबालिकामुक्त बनाउने भनेर हामीले लामो समयदेखि भनिरहेका छौँ, आज मानवसेवा आश्रमको कामबाट म प्रभावित भएको छु, यसरी असक्त मानवलाई लिएर सेवा गर्नु भनेको सरकारलाई पनि योगदान गर्नु हो”, उनले भने ।

नेता केसीले आश्रमलाई अगाडि बढाउन आफूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । 

आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रमको वर्तमान अवस्था, भवन निर्माण र नेपाललाई सडक मानवमुक्त बनाउनका लागि भावी योजनाबारे जानकारी गराएका थिए ।

नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले होटल व्यवसायीको धर्म भनेकै गाँस र बास भएकाले आश्रमका असहायलाई खाना खुवाएर स्थापना दिवस मनाउन पाउँदा हर्षित भएको बताए ।

अशक्त, असहाय र परिवारविहीन सडक मानवलाई सेवा दिने मानवसेवा आश्रमको २१ जिल्लामा २७ वटा शाखा रहेका आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए । हाल देशभरका आश्रममा एक हजार नौ सय २५ जनाभन्दा बढी असहायले आश्रय लिइरहेका छन् । तीमध्ये एक सय ६५ जनाभन्दा बढी बालबालिका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ