arrow

नेपालको स्वतन्त्रता र स्वाधीनतामा बीपीको अडान अविस्मरणीय: नेता सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
SITOULA-BA.jpg

ललितपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल सधैँ स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बीपी कोइरालाको स्पष्ट धारणा रहेको स्मरण गरेका छन्। कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित ‘स्मृतिमा बीपी’ विचार गोष्ठीमा बोल्दै सिटौलाले राष्ट्र र राष्ट्रियताका विषयमा बीपीको अडान कुनै पनि वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने रहेको बताए।

"राष्ट्र र राष्ट्रियता भनेको जनता हो, जनताको अधिकारबिना राष्ट्र र राष्ट्रियता रहँदैन भन्ने उहाँको सोच थियो," सिटौलाले भने, "लोकतान्त्रिक शासन पद्धतिमा उहाँले कसैसँग सम्झौता गर्नुभएन र नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुला छाडिदिनुभयो।"

सिटौलाले जननायक बीपी कोइरालालाई एक गतिशील नेता का रूपमा बुझ्नुपर्नेमा जोड दिए। उनले फाँसीको मुद्दा अदालतमा रहँदा पनि बीपीले आफ्नो घाँटी राजासँग जोडिएको भन्दै राजासँग सहकार्य गरेको स्मरण गराए। सिटौलाका अनुसार, राष्ट्र र लोकतान्त्रिक व्यवस्थाका लागि बीपीले राजासँग मिलेर काम गरे पनि तत्कालीन राजा ज्ञानेन्द्रले लोकतान्त्रिक व्यवस्था मासेका कारण राजतन्त्र र राजसंस्था बिदा भएको बताए।

कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले पञ्चायतकालमा कोइराला परिवारले भोगेका दुःखकष्ट र त्यसका बाबजुद कांग्रेसलाई बलियो बनाउँदै बहुदलीय व्यवस्था ल्याउन खेलेको भूमिकाको चर्चा गरे। उनले बीपीको लगनशीलता, त्याग र निष्ठालाई अनुशरण गर्दै व्यावहारिक रूपमा देशको विकास र समृद्धिमा लाग्नुपर्ने धारणा राखे।

कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले बीपीले गरेको योगदान, त्याग र तपस्यालाई वर्षमा दुई दिन मात्र सम्झनेभन्दा हरेक दिन उहाँका सत्प्रेरणालाई आत्मसात् गरी देश र जनताका पक्षमा काम गर्न सक्नुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्य धना खतिवडाले बीपीले परिकल्पना गरेअनुसारको लोकतान्त्रिक पद्धति, राजनीतिक स्वतन्त्रता, आर्थिक विकास र शासन पद्धतिमा जोड दिनुपर्ने धारणा व्यक्त गरिन्।

गोष्ठीमा कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, ललितपुर उपसभापति सुदर्शन घिमिरे, ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्कालगायत अन्य नेता तथा कार्यकर्ताहरूले पनि बीपीको योगदान र कांग्रेसले वर्तमान सन्दर्भमा खेल्नुपर्ने भूमिकाबारे आ-आफ्नो विचार राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ