arrow

बाढीले ताप्लेजुङको बेलिब्रिज बगायो, सङ्खुवासभामा सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
taplejung-fakthung.jpg
तस्बिर फाइल

ताप्लेजुङ। अविरल वर्षाका कारण आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने रानी पुलस्थित बेलिब्रिज बगाएको छ। स्थानीय तेन्जिङ वालुङका अनुसार, हेल्लोक र सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको हो। यो पुल बगेसँगै त्यस क्षेत्रमा यातायात अवरुद्ध भएको छ। यो बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको थियो। बाढीका कारण तमोर नदीको बहाव पनि बढेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भएको भारी वर्षाका कारण अरुण नदीलगायतका खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेकाले यस्तो आग्रह गरिएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भनेको छ, “भारी वर्षाका कारण अरुण नदीलगायत खोलानाला र जिल्लाभित्र बाढीपहिरोको जोखिम रहेको छ। यस क्षेत्र भई बग्ने साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।”

मौसम तथा पूर्वानुमान महाशाखाले पनि यो समयमा अत्यधिक वर्षा भएको र थप वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ