arrow

चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
chitwan-national-park1.jpg

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै वन्यजन्तुको आक्रमणबाट ११ जनाको ज्यान गएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, सबैभन्दा धेरै गैँडाको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यस्तै, हात्तीको आक्रमणबाट २ र बाघको आक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।

सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी ४१ जना घाइते भएका छन्, जसमध्ये ३२ जनाको अवस्था गम्भीर थियो। मृत्यु हुनेमा अधिकांश मानिसहरू घाँस काट्न र निगुरो टिप्न निकुञ्ज तथा सामुदायिक वनमा गएका व्यक्तिहरू रहेको निकुञ्जले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो पाँच वर्षमा वन्यजन्तुको आक्रमणबाट ७३ जनाको मृत्यु भइसकेको छ भने १६९ जना घाइते भएका छन्। यसमध्ये आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको थियो, जसमा २१ जनाको मृत्यु बाघको आक्रमणबाट भएको थियो।

वन्यजन्तुको आक्रमणबाट मानवलाई मात्र नभई पशुधनलाई पनि ठूलो क्षति पुगेको छ। गत आर्थिक वर्षमा १७९ वटा घरपालुवा पशुहरू मारिएका छन्, जसमा चितुवाको आक्रमणबाट १४० वटा र बाघको आक्रमणबाट ३७ वटा परेका छन्। यस्तै, निकुञ्ज आसपासका २३ वटा घरमा हात्तीले क्षति पुर्‍याएको र १३ वटा घरको अन्न भण्डारमा नोक्सानी गरेको तथ्याङ्क छ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले यो द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्। निकुञ्जले जनचेतनामूलक कार्यक्रम र मेस जाली लगाउनेजस्ता काम गरिरहेको पनि जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ