भिजिट भिसामा कुवेत जाँदै गरेका ४७ नेपाली महिला दिल्लीबाट फर्काइयो, अनुसन्धानका लागि प्रहरीलाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
685
Shares
काठमाडौँ, । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ। उनीहरूलाई नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) बिना यात्रा गर्न लागेकाले दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिइएको थियो।
दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल सहित दूतावासका कर्मचारीहरूको टोलीले ती महिलाहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देहीको सुनौली नाका पुर्याएर स्थानीय प्रशासनको जिम्मा लगाएको थियो। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएअनुसार, महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ।
यसैबीच, गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयका अनुसार, मन्त्री लेखकले मानव बेचबिखन ब्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका हुन्।