भीमसेन थापा: नेपालको इतिहासका एक अविस्मरणीय राष्ट्रवादी नायक
एक दूरदर्शी मुख्तियारको जीवन र योगदान
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
1.2k
Shares
काठमाडौँ । नेपालको इतिहासमा एक दूरदर्शी व्यक्तित्वका रूपमा स्थापित राष्ट्रिय विभूति भीमसेन थापाको जन्म आजकै दिन वि.सं. १८३२ साउन ९ गते गोरखाको पिपलथोकमा बगाले थापाकुलका सानाकाजी अमरसिंह थापा र सत्यरुपातर्फका जेष्ठ पुत्रका रूपमा भएको थियो। पुर्ख्यौली रूपमा दरबारको सेवामा संलग्न, सैनिक अधिकृत बाबुका कारण र दरबारको समीपमै घर भएकाले थापाको दरबारमा पहुँच बढ्दै गयो र उनले दरबारलाई प्रभावित पार्न सफल भए।
उच्च कुलीन र भारदार वंशका भएकाले भीमसेन थापाले २३ वर्षको उमेरमै वि.सं. १८५५ मा सरदार पदवी प्राप्त गरे। तत्कालीन राजनीतिक परिस्थितिले गर्दा डेढ वर्षका छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई राजगद्दीमा राखेर राज्य त्याग गरी स्वामी महाराज श्री ५ रणबहादुर शाह वि.सं. १८५७ जेठ ८ गते काशी निर्वासन हुँदा भीमसेन थापा पनि उनका साथ गएका थिए। थापाको दूरदर्शी र बुद्धिमत्तापूर्ण कार्यले गर्दा स्वामी महाराज वि.सं. १८६० फागुन २१ गते स्वदेश फर्की पुनः राजकाज चलाउन थाले। नेपालको हितका लागि खेलेको भूमिकाको कदरस्वरूप वि.सं. १८६१ जेठ ७ गते भीमसेन थापालाई काजी पदमा नियुक्त गरियो।
रणबहादुर शाहको हत्या गरेर शासन हातमा लिन खोज्ने उनकै भाइ चौतरिया शेरबहादुर शाह र उनका सहयोगीलाई पन्छाएर देश र आफ्नो रक्षा गरेबापत श्री ५ गीर्वाणयुद्ध विक्रम शाहद्वारा भीमसेन थापालाई वि.सं. १८६३ मा राज्य सञ्चालनका सम्पूर्ण अधिकारहरू प्रयोग गर्न पाउने गरी मुख्तियार पद प्रदान गरियो। उनको कार्यकुशलता र राष्ट्रप्रतिको वफादारीबाट प्रभावित भई श्री ५ गीर्वाणले वि.सं. १८६८ मा थापालाई जनरल पदवी पनि प्रदान गरे।
वि.सं. १८७१/७२ मा अंग्रेजसँगको युद्धमा नेपालको हार भई बाध्यतावश सुगौली सन्धि जस्तो असमान सन्धिमा हस्ताक्षर गर्नुपरे तापनि भीमसेन थापाले राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वलाई दृष्टिगत गरेर नै यो कार्य गरेका थिए। सुगौली सन्धिले नै नेपालको सिमाना व्यवस्थित भई नेपाल विश्वमा एक सार्वभौम राष्ट्रका रूपमा अस्तित्व कायम राख्न सफल भएको मानिन्छ।
विश्वका विभिन्न भागमा प्रभुत्व बढाउँदै गइरहेको बेलायती साम्राज्यवादविरुद्ध लड्न एसियाली जनएकताको आह्वान गर्ने र 'एसिया भनेको एसियाकै हुनुपर्छ' भन्ने मान्यता राख्ने उनी निकै दूरदर्शी एवं कूटनीतिज्ञ थिए। अंग्रेजबाट भएको राष्ट्रिय अपमानको बदला लिन थापाले आफ्नो कार्यकालभरि बृहत् योजनाहरू तयार गरी एसियाका विभिन्न राष्ट्रहरूबीच अन्तरसम्बन्ध स्थापित गर्नुका साथै साम्राज्यवादी शक्तिहरूका विरुद्ध एसियाली राष्ट्रलाई एक हुन आह्वानसमेत गरेका थिए। तत्कालीन एसियाली शासकहरूले उनको कुरा बुझ्न नसकेका कारण अधिकांश राष्ट्रहरू साम्राज्यवादी शासकहरूको मातहतमा रहन पुगे। यसप्रकार राष्ट्रवादी दृष्टिकोणले भीमसेन थापा नेपालको मात्र नभई एसियाकै महान् व्यक्तिका रूपमा देखिन्छन्।
वि.सं. १८९२ आश्विन २८ गते श्री ५ राजेन्द्रबाट भीमसेन थापालाई ‘कमान्डर–इन–चिफ’ जस्तो उच्च पदवी प्राप्त भयो। तर, दिवङ्गत अधिराजकुमार श्री ५ देवेन्द्रलाई विष खुवाएको मिथ्या आरोप लगाई त्यसको झन्डै दुई वर्षपछि वि.सं. १८९४ साउन ११ मा उनको मुख्तियारी तथा सर्वस्वहरण गरी उनीसहित उनका नजिकका नातेदारहरूलाई समेत बन्दी बनाइयो। पछि उनीमाथि लगाइएको आरोप प्रमाणित हुन नसकेपछि राजाले पूर्ण भारदारी सभामा थापाको कदर गर्दै सम्मानका साथ पहिरन र दरबारको घोडा उपहार दिई बन्दी जीवनबाट छुटकारा दिलाई लावालस्करका साथ बिदाइ गरेका थिए। यसरी बन्दी जीवनबाट छुटकारा पाएपछि थापा गोरखाको बोर्लाङमा गई आफूले बनाएको घरमा बस्न थाले।
तर, वि.सं. १८९५ माघमा विष मुद्दा ब्युँताएर सोधपुछको बहानामा पुनः बन्दी बनाइयो। भीमसेन थापाले सफाइका लागि विभिन्न प्रमाणहरू प्रस्तुत गर्दासमेत त्यसको सुनुवाइ भएन। उल्टो उनको प्रतिष्ठामा आँच आउने गरी विभिन्न अफवाहहरू फैलाइयो। यसबाट उनको स्वाभिमानमा ठूलो चोट पुग्न गयो र वि.सं. १८९६ साउन ८ गते बन्दीगृहमा नै प्राणत्याग गर्ने प्रयास गरेको नौ दिनपछि उनले वीरगति प्राप्त गरे। यसरी नेपालको इतिहासमा एक राष्ट्रभक्त एवं स्वाभिमानी राष्ट्रसेवक उपर लगाइएको झुटो आरोपविरुद्ध सबुत प्रमाण पेस गर्दागर्दै पनि तत्कालीन सत्तासीनहरूको दाउपेचका कारण कतैबाट पनि सुनुवाइ हुन नसकेपछि आफ्नो इज्जतमा लागेको दागलाई सहन नसकी प्राण नै त्याग गरी एक युगपुरुषको अवसान हुन पुग्यो।
नेपालका यस्ता सपुत राष्ट्रभक्तले आफ्नो कार्यकालमा थुप्रै सैनिक, कानुनी, सामाजिक, आर्थिक एवं प्रशासनिक सुधार गरेर राष्ट्रमा बलियो जग बसालेका थिए। यिनै राष्ट्रभक्त, स्वाभिमानी मुख्तियार भीमसेन थापासहित नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि आफ्नो जीवनको आहुति दिने वीर सपुतहरूको प्रेरणादायी जीवनका विविध पक्षहरूको अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार गर्दै नेपाली समाजलाई चिरकालपर्यन्त स्मरण गराउने उद्देश्य लिएर २०५३ साउन १ गते राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको स्थापना भएको हो।
भीमसेन थापाको २२१औँ जन्मजयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा राष्ट्रियस्तरको प्रतिष्ठान गठन गर्न आवश्यक छ भनी दिनुभएको प्रेरणादायी वक्तव्यबाट प्रेरित भएर २०५३ सालमा नेपाल सरकारका पूर्वसचिव एवं निर्वाचन आयुक्त रमेशजङ्ग थापाको अध्यक्षतामा यस प्रतिष्ठानको गठन भएको थियो। यस प्रतिष्ठानले स्थापनाकालदेखि नेपालको इतिहासबारे अध्ययन र अनुसन्धान गरी उल्लेखनीय कार्य गर्ने इतिहासकारहरू तथा देशको ऐतिहासिक, सामाजिक, कूटनीतिक एवं आर्थिक विकासमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।
यस वर्ष राष्ट्रको विभिन्न महत्त्वपूर्ण पदहरूको जिम्मेवारी वहन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनुका अतिरिक्त कूटनीतिक क्षेत्रमा समेत उल्लेखनीय भूमिका निर्वाह गरी नेपालको प्रतिष्ठा एवं सम्बन्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउनुभएका वरिष्ठ अर्थविद् एवं कूटनीतिज्ञ डा. भेषबहादुर थापालाई आज साउन ९ गते राष्ट्रपतिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान एवं पुरस्कृत गरिँदैछ।
भीमसेन थापाकालीन समयमा जारी भएका शीलापत्र, ताम्रपत्र, रुक्का, लालमोहर आदि ऐतिहासिक अभिलेखहरूको नेपालको इतिहासमा विशेष महत्त्व छ। यस्ता महत्त्वपूर्ण दस्तावेजहरूको खोजी गरी प्रकाशन हुन सकेमा नीतिनिर्माता, राजनीतिज्ञ, इतिहासकार, अनुसन्धानकर्ता एवं इतिहासप्रति रुचि राख्ने सर्वसाधारण व्यक्तिहरूलाई सत्यतथ्यमा आधारित इतिहासबारे जानकारी प्राप्त हुन सक्छ। यसै तथ्यलाई हृदयाङ्गम गरी प्रतिष्ठानले राष्ट्रिय अभिलेखालय र विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरिएको अभिलेखहरूलाई प्रकाशन गर्दै जाने नीतिअनुरूप बगाले थापा कल्याणकारी परिषद्को सहकार्यमा गत वर्ष अभिलेख सङ्ग्रह भाग–१ प्रकाशित गरिएको थियो भने यस वर्ष अभिलेख सङ्ग्रह भाग २ प्रकाशनमा ल्याइएको छ। ऐतिहासिक अभिलेखहरू उपलब्ध भएसम्म यो प्रकाशनलाई निरन्तरता दिइने नीति प्रतिष्ठानले लिएको छ।
अन्त्यमा, भीमसेन थापाकालीन समयमा निर्माण गरिएका विभिन्न मठमन्दिर र ऐतिहासिक धरोहरहरू जीर्ण अवस्थामा रहेको पाइएको छ। ती धरोहरहरूको संरक्षण, संवर्द्धन एवं पुनर्निर्माणका लागि नेपाल सरकारले आवश्यक पहल गर्नेछ भन्ने अपेक्षा प्रतिष्ठानले गरेको छ। (लेखक राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानका महासचिव हुन्)