नेपाली कम्युनिष्ट आन्दोलनका एक नेतृत्व, अगुवा र इतिहास अमृत बोहराले भनेका छन् - `मैले उहाँलाई भेटेसम्म कहिल्यै नयाँ लुगा लगाएको देखिन ।´ यो उनको भनाइ उनकै पुराना सहकर्मी मित्र नेत्रलाल पौडेल अभागीको जीवनशैलीका बारेमा भनिएको हो । नेत्रलाल पौडेल नेपालको कम्युनिष्ट वा वामपन्थी आन्दोलनका एक सशक्त र इमान्दार नेता हुन् । उनी २० र ३० को दशकमा पश्चिम नेपालमा कम्युनिष्टको संगठन निर्माण, शोषक र सामन्तका विरुद्धमा किसान आन्दोलनको नेतृत्व गरेका व्यक्ति हुन् । नेत्रलाल पौडेलको भूमिगत कालमै पार्टीकै कामको सिलसिलामा हिँड्दै गर्दा दाङकै एक घनघोर जङ्गलको बीचमा अन्त्यमा सहारा बिना भएर पानी समेत खान नपाई निधन भएको थियो । उनको निधन के कसरी भयो भन्ने बारेमा विभिन्न शंका पनि छन् भन्ने गरिन्छ ।
एकदिन मेरो स्नेही मित्र एवम् नेत्रलाल पौडेल अभागीका शोधार्थी प्रेमजीसँग फुर्सदिलो समयमा गफगाफ र कुराकानी चलिरहँदा नेत्रलाल पौडेल अभागीको प्रसङ्ग ल्याउनु भयो। यो नामको पुनःस्मरण भयो।विश्वविद्यालयीय अध्ययनका क्रममा सुनिएको थियो।नेपाली साहित्यको विकासक्रममा प्रगतिवादी धारमा रहेर कलम चलाउने एक प्रखर र सशक्त साहित्यकारका रुपमा उनको योगदान रहेको छ। प्रेमजीसँग कुरा चल्दै जाँँदा उनको नेपालको वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण योगदान र छोटो समयम मृत्यु भएको र मृत्युको घटना पनि रहस्यमयी छ भन्ने कुराले मलाई थप जिज्ञासा जगायो। मैले इन्टरनेटमा खोज्दै जाँदा उनका बारेमा थुप्रै सामग्रीहरू प्रकाशित भएका पनि रहेछन् ।
यसबाहेक प्रेमजीले आफूसँग नेत्रलाल अभागी स्मृतिग्रन्थ भएको जानकारी पनि दिनुभयो।मलाई नेत्रलाल पौडेल अभागीको जीवनी,व्यक्तित्व र योगदान जान्ने थप जिज्ञासा जाग्यो र प्रेमजीले पुस्तक पनि उपलब्ध गराउनु भयो र स्मृतिग्रन्थ सर्सर्ती पढेँ।१४० लेखकहरूद्वारा लेखिएका करिब ७ सयमा पृष्ठमा संरचित यो स्मृतिग्रन्थ पढ्दा वि.सं. २०२० र ३० का दशकमा वामपन्थी आन्दोलनका थुप्रै सङ्घर्ष घटनाहरू जानकारी भए।यो स्मृतिग्रन्थ पढेपछि नेत्रलालको जीवनशैली,योगदान,सपना र अहिलेका कम्युनिष्ट वा वामपन्थी भनिनेहरूको विचार,जीवनशैली र आचरणका बारेमा थुप्रै भिन्नताहरू देखिन्छ्न्। नेपालमा अहिले धेरै नेताले आफूलाई कम्युनिष्ट हुँ भनिरहेका छन् तर तिनीहरूको आचरण र व्यवहारमा कुनै किसिमका कम्युनिष्टका गुणहरू पाइँदैनन् ।
भर्खरै एक सार्वजनिक कार्यक्रममा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा कम्युनिष्टकै एउटा घटकका महासचिव घनश्याम भुसालले घुस खान नसकिने रहेनछ भन्ने स्वीकारे भने र अर्को घटकका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट नेतृत्वमा बनेका ९ सरकारमा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी बाहेक सबै प्रधानमन्त्रीहरू भ्रष्टाचारमा अछुतो नरहेको स्वीकार गरे ।
आज देशमा लोकतान्त्रिक व्यवस्था चल्दा पनि कम्युनिष्ट आन्दोलनका थुप्रै योद्धाहरूको सपनालाई कम्युनिष्टकै सरकारले कुल्चेका छन्।हिजो कहिल्यै नयाँ लुगा नलगाएर कम्युनिष्टको संगठन बनाएका नेत्रलालको सपना,त्याग र समर्पण आज तिनकै उत्तराधिकारीहरूले सुन,हिरा पहिरिएर आन्दोलनलाई समाप्त पार्न खोजिरहेका छन्।आज कम्युनिष्टका शीर्षस्थ नेताहरू नै मानव तस्कर र सुनकाण्ड जस्ता ठूल्ठूला भ्रष्टाचारका काण्डमा मुछिएका छन्।नेत्रलालको भोको पेट,गरुङ्गो झोला,त्याग र सपनालाई आजका कम्युनिष्ट नेताहरूले नै भ्रष्टाचारका काण्ड मच्चाएर कम्युनिष्ट आन्दोलनको बेइज्जत गरिरहेका छन्।आजका कम्युनिष्ट नेताहरू जुन विचार,सिद्धान्त र आस्थामा रहेर सत्तामा पुगे,त्यो विचारलाई एकातिर मिल्काई भ्रष्टाचारमा चुर्लुम्म डुबिरहेका छन्।कम्युनिस्ट आन्दोलन र नेतृत्वमा विचलन,भ्रष्टीकरण,निराशा,अस्वस्थ प्रतिस्पर्धा,अंहकार घमण्ड र दम्भ मात्र देखिन्छ।
कम्युनिष्टभित्र नेत्रलालका समकालीन वा पछिल्लो पुस्ताहरूले उनले तय गरेको यात्रा,बोकेको झोला,पैतालामा बोकेको दङ्गाली माटोलाई स्मृतिग्रन्थमा जतिसुकै सम्झिए पनि वा भावनामा बहकिए पनि व्यवहार र आचरणमा अधिकांश कम्युनिष्ट नेता र कार्यकर्ताहरूले सिद्धान्त र आस्थालाई बिर्सिएका छन्।
नेत्रलाल पौडेल अभागीको सपना साकार पार्न त सबैभन्दा पहिले अहिलेका कम्युनिष्ट नेताहरूले आफ्नो जीवनशैली र आचरण पुरै परिवर्तन गर्नुपर्छ।दाङका थारु,आदिवासी र सीमान्तीकृतलाई सपना मात्र बाँडेर सिंहदरवारमा पसी भ्रष्टाचारका काण्डैकाण्डका चाङ लगाएर नेत्रलालको उत्तराधिकारी हुँ भनेर किताबमा लेख्दैमा वा भाषण गर्दैमा कम्युनिष्टको सुभागीदार हुन सकिँदैन ।
नेतृत्वमा पुगेर फोहोर र दुर्गन्धमा डुब्ने अनि सफा छु भनेर कसैले पत्याउँदैनन्।आज नेपालको कम्युनिष्ट आन्दोलनमा बारम्बार बाधा अवरोध हुनु र टुक्रिनुको प्रमुख कारण भनेको सत्तालिप्सा र पदलोलुपता नै हो। बकम्फुस बोलेर वा भाषण गरेर देशमा समाजवाद आउँदैन । जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारका सवालमा चिन्तन र चासो भएमात्र समाजवाद आउन सक्छ । हरेकदिन जसो कम्युनिष्ट भनाउँदाहरू नै एकपछि अर्को भ्रष्टाचारका काण्डमा मुछिएर गन्हाएपछि नेत्रलालको सपना पूरा हुन्छ त ? कदापि हुँदैन ।
नेत्रलाल मात्र होइन धेरै सहिदहरूले सामाजिक न्याय,सुशासन र लोकतान्त्रिक व्यवस्थाका लागि व्यक्तिगत स्वार्थ भन्दा टाढा रहेर क्रान्तिमा सहादत प्राप्त गरेका थिए।आज नेताले तिनै सहिदको रगतमा होलि खेलिरहेका छन्।आज इमान्दार कार्यकर्ताले आफूलाई कम्युनिस्ट समर्थक भन्न पनि लाज लाग्ने अवस्था रहेको छ।कम्युनिस्टभित्र दलाल र पुँजीपतिहरूको रजगज छ।कम्युनिस्ट पार्टीभित्र जनवादी केन्द्रीयता,स्वस्थ र लोकतान्त्रिक प्रतिस्पर्धा भन्ने नै छैन।अधिकांश कम्युनिस्टका घटकहरू व्यक्तिका प्राइभेट कम्पनीजस्ता बनेका छन्।पुष्पलालले जन्माएका र नेत्रलालहरूले हुर्काएका विचारलाई अहिलेका नेतृत्वहरूले निमोठ्ने, भाच्ने र मास्ने काम भएको देखिन्छ।
नेत्रलाल पौडेलको जीवनीको छोटो चर्चा गर्दा उनको जन्म दाङ जिल्लाको दक्षिणपूर्वमा पर्ने हालको घोराही उपमहानगरपालिका वार्ड न. ५ धर्ना सिसैपुरमा विस.२००१ साल पौष महिना २७ गते भएको थियोे।उनले आफ्नो अध्ययनका क्रममा दु:ख,पीडा,पिता र प्रथम श्रीमती मृत्यु लगायतका कारणले लहडैमा उपनाम राख्ने क्रमको लहरमा अभागी राखेका हुन् भनिएको छ।त्रिविबाट बिए अनर्स पूरा गरेका पौडेलले २०२१ देखि शिक्षकका रुपमा जागिरे जीवन शुरु गरेका थिए । नेत्रलाल पौडेल अर्घाखाँची जिल्लाको चुत्राबेशीस्थित जनज्योति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक हुन्।उक्त विद्यालयमा कार्यरत रहँदा नेत्रलालले विद्यालयबाट आँकुरो साहित्यिक पत्रिका निकालेका थिए।अर्घाखाँची रहेकै बेला नेत्रलालले २०२३ सालमा नेकपा अर्घाखाँचीको जिल्ला कमिटीमा पार्टी सदस्यता प्राप्त गरेका थिए ।
करिब दुई वर्ष अर्घाखाँचीमामा शिक्षक बनी उनी २०२४ मा दाङमै फर्किए र दाङको सिद्धरत्न माविमा करिब ६ वर्ष प्रधानाध्यापक नै भए।२०३० देखि भूमिगत रुपमा वामपन्थी राजनीति शुरु गरेका थिए।उनले नेकपा मालेको केन्द्रीय सदस्य सम्मको जिम्मेवारी पूरा गरेका थिए।उनको भूमिगत राजनीति शुरु गरेको करिब १० वर्षमा निधन भएको थियोे।उच्च रक्तचापको बिमारीले ग्रस्त पौडेलको निधन २०४१ साल ज्येष्ठ ६ गते भएको थियो । उनका १ श्रीमती,३ छोरीहरू र १ छोरा छन्।
छोटो समयमै पनि पौडेलले नेपालको वामपन्थी आन्दोलनमा ठूलो योगदान दिएका थिए।राजनीतिमा मात्र नभएर साहित्यमा पनि उनको योगदान रहेको छ।दङाली जनताका माझ उनी माडसाब भनेर परिचित थिए।उनी सानै उमेरदेखि श्रमशील,जिज्ञासु र अन्यायलाई नसहने प्रवृत्तिका स्पष्टवादी व्यक्ति थिए।दाङ जिल्लालाई कार्यक्षेत्र बनाएर नेपालको वाम-प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील रहेका नेत्रलालले राष्ट्रिय राजनीतिमा आफ्नो अलग्गै पहिचान र छवि निर्माण गरेका थिए।नेत्रलाल पौडेल अभागी बहुमुखी प्रतिभाका धनी व्यक्तित्व थिए।उनी भूमिगत कालमा पार्टीमा क.बेचन र क.बशिष्ट भनेर चिनिन्थे । उनका विभिन्न विधाका अपुरा रचनाहरू अझै अप्रकाशित नै छन्।यो सानो लेखमा उनका विविध आयामलाई समेट्न सकिँदैन,केवल जीवनशैलीलाई मात्र छुने प्रयास गरेको छु ।
नेत्रलाल पौडेल अभागी अहिलेका नेपालका कम्युनिष्ट पार्टी भनिने शीर्षस्थ नेताहरूका सहकर्मी हुन्।स्मृतिग्रन्थमा थुप्रै लेखकहरूका लेखहरू पढिरहँदा मेरो अलि चासो दाङका केन्द्रीय स्तरका नेताहरू युवराज ज्ञवाली,शंकर पोखरेल,रेखा शर्माका अभिव्यक्तिमा अलि गहिरिएर गयो।युवराज ज्ञवालीको लेख र शंकर पोखरेलको अन्तर्वार्तामा नेत्रलाल पौडेलको प्रशंसा वा तारिफ पढ्दा ती वाक्यहरूमा प्रयुक्त शब्दहरूले उनी आफूहरूलाई नै गिज्याए वा खिसिट्युरी गरेजस्तो पो लाग्यो।के कुनै योद्धाको प्रशंसा गरिनुको औचित्य उसको विचार र आचरणलाई आफ्नो व्यक्तिगत र पार्टीगत जीवनमा पनि अवलम्बन गरिनु पर्ने होइन र ?
दाङ जिल्लामा थारु जातिलाई राजनीति चेतना पढाएर विद्रोहमा जुट्न लगाएका नेत्रलालको सपनालाई त्यहाँकै केन्द्रीय स्तरमा जिम्मेवारी सम्हालेका नेताहरू युवराज,शंकर र रेखा आदिहरूले आज कत्तिको आत्मसात गरिरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण पक्ष हो।शंकर पोखरेल त एमालेका महासचिव हुन्।दाङकै सन्दर्भमा भन्दा त नेत्रलालको असली सुभागीदार शंकर पोखरेल हुन्।शंकर पोखरेल व्यक्ति मात्र नभएर संस्था वा पार्टीकै जिम्मेवार र जवाफदेही पात्र हुन्।नेपालमा बहुदलीय लोकतान्त्रिक व्यवस्था चलिरहँदा नेत्रलालका शिष्य शंकर पोखरेल सांसद,मन्त्री,मुख्यमन्त्री र महासचिव बन्दा दाङले के के पायो त?वा तात्त्विक रुपमा केही पनि पाउन सकेको छैन भने किन?नेत्रलालका सांगठनिक सहकर्मी र शिष्यहरू मोहन विक्रम सिंह, मोहन वैद्य, मोदनाथ प्रश्रित युवराज, शंकर पोखरेल, वामदेव गौतम, कृष्णबहादुर महरा, प्रकाश ज्वाला, जनार्दन शर्मा, वर्षमान पुन, शान्ता मानवी, रेखा शर्मा आदिहरू पनि यसमा जवाफदेही हुनुपर्छ।
आज नेपालका अधिकांश कम्युनिष्ट नेताहरूको जीवनशैली र पद्धतिलाई हेर्दा यिनीहरूलाई नेत्रलालका सुभागी भन्न पटक्कै सुहाउँदैन।नेत्रलाल वा अन्य सहिदहरूले कसका लागि र के प्राप्तिका लागि भूमिगत जीवनमै मृत्युवरण गर्नुपर्यो ? उनीहरूले कसका लागि आफ्ना परिवारलाई समय दिन सकेनन् ? कम्युनिष्ट सरकार ल्याएर नेतालाई भ्रष्टाचार गर्नका लागि नेत्रलाल सामन्त र शोषकका विरुद्धमा लड्न परेको हो र ? हिजो नेत्रलाललाई साथ दिनेहरू गरिब,पीडित,शोषित नेपाली किसानहरू थिए तर आजका कम्युनिष्ट नेताहरूका साथीहरू शोषक,सामन्त,ठेकेदार,दलाल र बिचौलीहरू छन् ।
नेत्रलाल जसका विरुद्धमा लडेका थिए उनकै समर्थनमा आजका कम्युनिष्ट नेताहरू छन्।नेत्रलालको विचार र आस्था अनि सपनालाई साकार पार्न अनि दाङका थारु लगायतका जनताका व्यथा र समस्या पुरा गर्न भनी कम्युनिष्टहरू सिंहदरवार पसे तर सिंहदरवारभित्रै भ्रष्टाचारमा चुर्लुम्म डुबे।आज दाङका थारू लगायतका जनताहरू केवल नेताका भोट बैंक मात्र बनिरहेका छन्।यी नेताहरूले नेत्रलालको योगदान गुणगान केवल आफ्नै समृद्धि र भलोको लागि मात्रै देखिन्छ।नेत्रलालको नाम बेचेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरिरहेका छन्।नेत्रलालको त्यो भोको पेट,ठूलो झोला, कहालीलाग्दा यात्राको सपना आजका यस्तै भ्रष्टाचारी कम्युनिष्ट जन्माउनु थिएन।
नेपालमा पटक पटक कम्युनिष्टका सरकार बने तर सबै कम्युनिष्ट सरकारले नेत्रलालको योगदान र सपनालाई चटक्कै बिर्सिए।आज कम्युनिष्टहरूका लाखौं कार्यकर्ता छन् र विशाल संगठन छन् भन्छन् र नेताले तिनकै भर्याङ चढेर सत्ताको रजगज चलाएका छन्। कम्युनिष्ट भनिनेहरूले यस्ता थुप्रै नेत्रलालहरूको योगदान र सपनालाई धुलोमा कुल्चिएका छन्। नेत्रलालहरूले जन्माएको र बनाएको संगठनलाई आधार बनाएर ब्रह्मलुट मच्चाएका छन् ।
अहिलेका कम्युनिष्टहरूले अभागीको विचार,आचरण र जीवनशैलीलाई बिर्सिएर आफूलाई तिनैको सुभागी अर्थात हिस्सेदार भन्दै लाज पचाइ रहेका छन्।कम्युनिष्ट भई सिंहदरवार पसेर बालुवाटार लगायतका जग्गामा आँखा लगाउने अनि थारु र सीमान्तकृत जनताका आवाज सुन्न नसक्नेहरू नेत्रलालका सच्चा सुभागी बन्नै सक्दैनन्।कम्युनिष्ट नेता र जनताको जीवनशैली बराबर हुनुपर्छ।
जनतालाई भर्याङ बनाई सत्तामा पुगेर देशलाई लुटेर अनि बकम्फुस गफ गरेर नेत्रलालको सपनालाई साकार पार्न सकिँदैन।अभागीको आस्था,अठोट र सपनालाई बिर्सिने अहिलेका यी तथाकथित सुभागीहरू सच्चिए र सुध्रिए मात्र देश र जनताले सुख र समृद्धिको सास फेर्न सक्छन्। कम्युनिष्टका अनेक पसल थापेर राजनीतिलाई व्यवसाय बनाएर भ्रष्टाचारमा चुर्लुम्म डुबेर नेत्रलालको सपना पूरा हुँदैन। कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिने हो भने अहिलेको जनता र नेता बीचको जीवनशैलीको खाडल अन्त्य गर्नुपर्छ।
कम्युनिस्टभित्र रहेको झोले र टिके प्रथालाई अन्त्य गरिनुपर्छ। कम्युनिस्ट पार्टीहरूले अहिलेको विकृत राजनीतिलाई अन्त्य गरी जनताका माग र उनीहरूका आकांक्षालाई सम्बोधन गरेमा मात्र नेत्रलालको योगदानको कदर र सच्चा श्रद्धाञ्जली हुनसक्छ । अन्त्यमा अमर शहीद नेत्रलाल पौडेल अभागीप्रति हार्दिक श्रद्धाञ्जली। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)